प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम बागलुङ नगरपालिका—१ निरयघाटमा खाद्यान्न सहयोग गरिएको छ । २०४८ साल जेठ १३ गते स्थापना भएको लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन प्रेस युनियन ३३ वर्ष पूरा भएको अवसरमा जिल्ला शाखा बागलुङको आयोजनामा खाद्यान्न सहयोग गरिएको हो । आश्रममा आश्रितहरुलाई खाद्यान्न हस्तान्तरण गर्दै नेपाल प्रेस युनियका निवर्तमान केन्द्रीय सदस्य एवं बागलुङ नगरपालिका—११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले नेपालमा लोकतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्र र पत्रकारका ठूलो भूमिका रहेको बताए ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत र पत्रकारको ठूलो भूमिका छ,’उनले भने,‘संगठनात्मक रुपमा प्रेस युनियनले पनि यस विषयमा आफ्नो भूमिकालाई सशक्त देखाएको छ ।’ गौतमले आफु पत्रकारिताको पृष्ठभूमिबाट जनप्रतिनिधिमा निर्वाचित भएकाले पत्रकार र पत्रकारिताको समस्याबारे जानकार रहेको बताए । ‘पत्रकार र पत्रकारिताको समस्याबारेमा मलाई राम्रोसंग थाहा छ,’उनले भने,‘हिजोका दिनमा म पनि यही पेशामा थिएँ । अहिले जनप्रतिनिधिको रुपमा छु । पत्रकारिता पेशालाई मर्यादित बनाउँदै पत्रकारका हकहितको सुरक्षा र संरक्षणका लागि प्रेस युनियनको स्थापना भएको हो ।’

गौतमले आश्रममा आश्रित ज्येष्ठ नागरिकको लागि खाद्यान्न सहयोग गर्ने रचनात्मक काम गरेकोमा प्रेस युनियन बागलुङ शाखालाई धन्यवाद पनि दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउनका लािग संगठनात्मक रुपमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको बताए । ‘व्यवसायिक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियको भूमिका महत्वपूर्ण छ,’उनले भने,‘हाम्रो पत्रकारिता जगतलाई अझै व्यवसायिक र मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेछ ।’

उनले पत्रकार महासंघको निर्वाचनमा पनि संघारमै आएको पत्रकारिता पेशागत संघ संगठनहरु मिलेर सहमति र सहकार्यमा महासंघको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । रामानुज आश्रमकी पवित्रकला पुरुसोत्तम आमाजीले आश्रमलाई सम्झेर सहयोग गरेको धन्यवाद दिईन् । स्थापना दिवसको पूर्वसन्ध्यामा दुई बोरा चामल, एक कार्टुन तेल, चार किलो दाल, पानी पिउने प्लाष्टिक गिलास र कपडा धुने सरफ आश्रमलाई सहयोग गरिएको प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्यले जानकारी दिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव नवराज परियारले गरेका थिए ।

३३ औं स्थापना दिवसको अवसरमा जेठ १३ गते आईतबार बिहान नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकारका पेशागत संघ संगठनबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको छ । दिउँसो साढे दुई बजे बागलुङ उद्योग वाणिज्य संघको सहभाहलमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सरोकारवालाको भूमिका विषयक अन्तरिक्रया कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घर्तीमगरले जानकारी दिए । नेपालको पत्रकारिता क्षेत्रमा पेशागत रुपमा स्थापना भएको प्रेस युनियन पहिलो संगठन हो ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता पाउने नेपालको पहिलो पेशागत संगठन हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *