आदर्श अनलाइन, बागलुङ
विश्व वातावरण दिवसको अवसरमा बागलुङको गौरीधाम शिव मन्दिर परिषरमा वृक्षरोपण गरिएको छ ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ बागलुङ जेसीजको आयोजनामा बानपा ४ उपल्लाचौर स्थित गौरीधाम शिव मन्दिरमा बिभिन्न प्रकारका २३ बटा विरूवा रोपण गरिएको हो ।
पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देशका साथ, कुपुर, तेजपत्ता, इमली, अम्मा, कल्की, धुपी, गुलमोहर लगाएतका विरूवा रोपिएको जेसीजका महासचिव ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले रोपिएका विरूवालाई समय समयमा व्यवस्थापन र संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठले जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्यालाई समाधान गर्नका लागि वातावरण संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष गणेश महतोको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र उपाध्यक्ष प्रतिभा केसीको संचालनमा सम्पन्न भएको थियो ।
सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ ।