रोहन जि.सी, बागलुङ
सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गका व्यक्तिहरूलाई सिप विकास तालिम, वित्तीय साक्षरता र स्वास्थ्य सचेतना कार्यक्रम शनिबार देखी बागलुङमा शुरू भएको छ ।
भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले सञ्चालन गरेको ग्रामिण स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत जिल्ला सहकारी संघ बागलुङसंगको सहकार्यमा ३ दिने सीप विकास, स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता तालिम शुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले सिकेका विषयलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले तालिमलाई समन्यायीक, समावेशी समाज निर्माणमा प्रयोग गर्न र मानवीय क्षमताको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी, ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेडका परियोजना संयोजक दिपक शर्मा, विवाईसी बागलुङका लेखा तथा प्रशासन अधिकृत विष्णु पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला जि.सीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
महिला तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ आयोजित तालिममा किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, महिला तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले गर्नुभएको थियो ।
तालिममा १५ जना महिला तथा युवाको सहभागिता रहेको जिल्ला सहकारी संघ बागलुङको प्रबन्धक सिर्जना शर्माले जानकारी दिनुभयो । ३ दिनेसम्म चल्ने तालिममा पहिलो दिन टप बनाउने, दोसो दिन सेनेटरी प्याड बनाउने र अन्तिम तथा तेस्रो दिन वित्तीय साक्षरता र स्वास्थ्य सचेतना विषयक सहजिकरण गरिने शर्माले जानकारी दिनुभयो ।