आदर्श अनलाइन, बागलुङ
संघीय सहकारी विभागले सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न सहकारीका शेयर सदस्यहरुलाई आव्हान गरेको छ । विभागले जेठ ३१ गते सार्वजनिक सूचना मार्फत जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको साँवा र ब्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पुरा गर्न आव्हान गरेको हो ।
सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ, रष्ट्रिारद्वारा जारी सूचनामा भनिएको छ,–सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर पर्ने गरेको छ ।
सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० मा सहकारी संस्थाहरुले ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु रहेकोले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन विभागले आग्रह गरेको छ ।
सहकारीबाट लिएको ऋण भुक्तान गर्नका लागि विभागले जस्तै सार्वजनिक सूचना प्रदेशका सहकारी रजिष्ट्रार कार्यालय तथा विभिन्न स्थानीय पालिकाहरुले समेत जारी गरेका छन् । ऋण मिनाहा हुन्छ, तिर्न पर्दैन भन्ने खालका भ्रमहरु चिर्नका लागि सरकारी तवरबाट ऋण भुक्तान गर्न आव्हान गर्न सहकारी अभियानका तर्फबाट ध्यानाकर्षण हुदै आएको छ ।
सरकारले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण स्थापना गरी सहकारीको ऋण तिर्न अटेर गर्नेहरुलाई कालो सूचिमा राख्ने व्यवस्था गर्न अभियानले माग गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको १ सय दिनमा गरेका कामको बारेमा जानकारी दिदै छिटै सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्ययोजना जारी गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारले सहकारीमा वचत गरेका वचतकर्ताहरुको वचत फिर्तासंगै ऋण लगेर नतिर्नेहरुका बारेमा समेत स्पष्ट कार्ययोजना ल्याउन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।