आदर्श अनलाइन, बागलुङ
पतञ्जली योग समिति बागलुङले १० औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ ।
हरेक वर्ष २१ जुन असार ७ गते मनाउँदै आइएको अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको योग समिति बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार असार १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
पहिलो दिन असार १ गते राधाकृष्ण साधना केन्द्रमा नियमित योग कक्षासँगै योग र प्रणायमका फाइदाको विषयमा चर्चा गरिएको थियो । असार २ गते राधाकृष्ण साधना केन्द्रमै केन्द्रका पदाधिकारी र सदस्यसँगै नियमिति योग कक्षामा सहभागी हुँदै आएका साधक साधिकाको विचमा अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
त्यसैगरी असार ३ गते बागलुङका पत्रकारको विचमा योग शिविर सञ्चालन, ४ गते बागलुङ नगरपालिका १ निरयघाटमा रहेको रामानुज आश्रममा फलफुल वितरण तथा कालिगण्डकीनदी सरसफाई र गंगातटमा योग अभ्यासको आयोजना गरिएको संगठन मन्त्री अमृत प्रसाद कंडेलले जानकारी दिनुभयो ।
असार ५ गते बागलुङका विद्यालयमा विद्यार्थीलाई योग शिविर, ६ गते मानव सेवा आश्रम बागलुङमा विहानीको भोजन गराउने र ७ गते प्रभातफेरीसँगै राधाकृष्ण साधना केन्द्रमा प्रणायम, योगाशन र शुभकामना आदान प्रदान गरेर मुल समारोह मनाउने तयारी गरिएको कंडेलले बताउनु भयो ।
संगठन मन्त्री अमृत कंडेल र महिला पतञ्जली योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठको संयोजनमा सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो ।