पश्चिम बागलुङका सहकारीकर्मीलाई कोपोमिस तालिम

रोहन जि.सी, बागलुङ

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको आयोजनामा बागलुङको बुर्तिबाङमा ३ दिने कोपोमिस सम्बन्धी तालिम शुरु भएको छ ।

सहकारीहरुलाई अनिवार्य रुपमा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा आवद्ध बनाउने सरकारको योजना अनुसार सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि मंगलवारदेखि तालिम सञ्चालन गरिएको सहकारी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कोपोमिसमा आवद्ध नहुने सहकारीहरुलाई करचुक्ता प्रमाण पत्र नदिन, मालपोत कार्यालयमा धितो रोक्का नगर्न संघीय सहकारी विभागले २ वर्ष पहिला नै सर्कुलर गरेको थियो ।

विभागले जेठ ३१ गते पुनः सार्वजनिक सूचना जारी गरी कोपोमिसमा आवद्ध भइ तोकिए बमोजिमको विवरण प्रविष्ट गर्न निर्देशन गर्दै अन्याथ कानुन बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने चेतावनी दिएको छ ।

सरकारले सबै सहकारीको सम्पूर्ण विवरण अद्यावधिक गर्नका लागि कोपोमिस प्रणाली अगाडि बढाएको छ, यसमा सबै सहकारीहरु अनिवार्य रुपमा आवद्ध भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नु सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले आग्रह गर्नु भयो ।
प्रविधिको प्रयोग मार्फत सहकारीको यथार्थ अवस्था आम समुदायका बीचमा ल्याउन तथा सहकारीमा देखिएका कमी कमजोरी सुधारका लागि समेत कोपोमिस अनिवार्य जस्तै भएको उहाँको भनाइ थियो ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीको सही तथ्यांकका लागि सबै सहकारीहरुले आफ्नो यथार्थ अवस्था सहितको विवरण कोपोमिसमा प्रविष्ट गर्नु पर्नेमा जोड दिनुभयो ।

बागलुङको पश्चिमका बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका भित्रका सहकारीका प्रवन्धक तथा कर्मचारीहरुको सहभागिता रहेको तालिममा रजिष्ट्रार भेषराज रिजाल, जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत सूर्य प्रसाद आचार्य, अधिकृत तुलसी प्रसाद पौडेलले सहकारीको अवधारणा, मूल्य मान्यता र सिद्धान्त तथा सहकारीमा कोपोमिस सम्बन्धमा सहजीकरण गर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *