पोखराका सहकारीकर्मीलाई वित्तीय व्यवस्थापन र नियन्त्रण प्रणाली सम्बन्धी प्रशिक्षण


आदर्श अनलाइन, बागलुङ

पोखरा महानगरपालिका सहकारी संघ लिमिटेडको आयोजनामा एक दिने सहकारीमा वित्तीय व्यवस्थापन र नियन्त्रण प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ८ वडा कार्यालयको सहयोगमा सञ्चालन भएको तालिममा महानगरपालिका भित्रका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारी वित्तीय व्यवस्थापन, वासलात, नाफा नोक्सान, कोष व्यवस्थापन र कोष परिचालनका विषयमा पोखरा महानगर सहकारी समितिका सदस्य नारायण आचार्यले सहजीकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ कास्कीका पूर्व सञ्चालक संगिता तिमिल्सिनाले सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली, सहकारी ऐन, नियमावली, वचत तथा ऋण कार्यवित्रि, आर्थिक तथा कर्मचारी कार्यविधि लगायत अन्य कार्यविधिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सहकारी क्षेत्रमा देखिएको अन्यौलपूर्ण अवस्थालाई चिर्नका लागि सहकारी र सरकार मिलेर सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

नियम कानुनको कार्यान्वयनसंगै सहकारीमार्फत सदस्यहरुलाई दिइने सेवा सुविधालाई प्रभावकारी बनाउन वडा अध्यक्ष बरालले आग्रह गर्नु भयो । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरीले वित्तीय व्यवस्थापन अन्तरगत सहकारीमा सदस्यहरुको शेयर वचत र ऋणको सदुपयोग र परिचालन गरेर संस्था सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । पोखरा महानगर सहकारी समितिका पूर्व अध्यक्ष तेज नारायण अधिकारीले सहकारी क्षेत्रमा देखिएको निराशालाई चिर्नका लागि सञ्चालक र कर्मचारीहरुको थप क्रियाशिलतामा जोड दिनु भएको थियो ।

कार्यक्रम पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष लिलाधर बरालको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण कोइरालाको स्वागत र महासचिव गणेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *