अभिभावक बिहिनलाई बालबालिकालाई रु. ८ लाख सहयोग

आदर्श अनलाइन, बागलुङ
क्यान्सर रोगका कारण आमा गुमाउदा अभिभावक बिहिन भएका दुई बालबालिकालाई रु. ८ लाख सहयोग प्राप्त भएको छ । आमा विरामी परेपछि बाबा समेत सम्पर्क बिहिन बनेपछि टुहुरा बनेका छोराछोरीलाई अमेरिकाबाट रु. ८ लाख सहयोग प्राप्त भएको हो ।

क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु हुनुभएको बागलुङ नगरपालिका वडा नम्बर ४ पाखाथरकी मिना आचार्यका छोरा छोरीलाई बागलुङ घर भइ हाल अमेरीका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा रु.८ लाख सहयोग प्राप्त भएको छ ।

हाल अमेरीका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा संकलन भएको रु.८ लाख ८७ हजार ६ सय ४२ मृत मिनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको हो ।

मिनालाई चार वर्ष अगाडी पाठेघरको क्यान्सर देखिएको थियो । उपचारको क्रममा हालै निधन भएको थियो । जग्गा जमिन विक्रीसँगै मिनाका दिदी भिनाजु र आफ्न्तको सहयोगमा हालसम्म उपचार गरिएको थियो । उहाँको उपचारमा रु.१६ लाख भन्दा बढी खर्च भएको थियो ।

उपचारकै क्रममा थप रकम आवश्यक पर्ने देखिएपछि हाल अमेरीका रहेका मिनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथिहरुको सहयोग लिएर आर्थिक संकलन अभियान सुरु गरेका थिए ।

तर, मिनाको निधन भएपछि टुहुरा बनेका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काज किरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने छ ।

मृतक मिनाका श्रीमान मनि आचार्य साढे २ वर्षदेखि वेपत्ता छन् । क्यान्सको उपचार गराई रहेकी श्रीमतीलाई छोडेर आचार्य वेपत्ता भएपछि परिवारमा थप संकट देखिएको थियो ।
राजेन्द्रका बुबा विरबहादुर केसीले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *