सहकारीको समस्या साझा हो, सबै मिलेर समाधान गरौ : राजनीतिक दलहरु

आदर्श अनलाइन, बागलुङ

बागलुङमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले विश्वभर उत्पन्न वित्तीय संकटसंगै नेपालको सहकारी क्षेत्रमा देखिएको असहज अवस्थालाई सहज बनाउन सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारीको समसामयिक अवस्थाका बारेमा राजनीतिक दलका प्रमुखहरुसंग बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले सहकार्य र समन्वयमा जोड दिएका हुन् ।

सहकारीमा देखिएको समस्या सबैको साझा समस्या हो, एक दुई वटा सहकारीमा देखिएको समस्याका कारण आम सहकारी क्षेत्रप्रति नै अविश्वासको वातावरण सिर्जना भएको भन्दै नेताहरुले गल्ती गर्नेलाई कार्वाही गर्ने र उनीहरुका कारण समस्यामा परेका सहकारीहरुको संरक्षणका लागि राज्यको भूमिका बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्यले बागलुङमा २ वटा सहकारीले गरेका गलत क्रियाकलापले सिंगो वित्तीय क्षेत्रमा नै खैला बैला मच्याएको बताउनुभयो । केही सहकारीका सञ्चालकहरुको खराव नियत र राज्यको नियमन कमजोर भएका कारण समस्या सिर्जना भएको भन्दै उहाँले विगतबाट पाठ सिकेर सहकारी क्षेत्रमा विश्वास बढाउने गरी सबै मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसीले सहकारी मात्रै होइन, समग्र क्षेत्रका लागि कठिन समय आएको छ, यो कठिन समयमा अडिन सकियो भने मात्रै सफलता हासिल गर्न सकिन्छ, यस्तो समयमा सबै सरोकारवालाहरुले आफ्नो जिम्मेवारी, कर्तव्य इमान्दारिपूर्वक निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

Exif_JPEG_420

सहकारी क्षेत्रमा देखिएको समस्याले आम सर्वसाधारणको जीवन कष्टकर हुदै गएको चर्चा गर्दै केसीले नीतिगत सुधारसंगै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

सहकारीबाट ऋण लगेकाहरुको वर्गिकरण गर्नुस, के कारणले ऋण तिर्न सकेका छैनन्, समस्या भएर हो कि ? नियत खराव भएर हो ? नियत खराव भएकाहरुका हकमा दलहरुका तर्फबाट सहयोगी भूमिका निर्वाह हुने केसीले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका सल्लाहकार बालकृष्ण शर्माले सहकारीमा वचत गर्ने सदस्यहरुको रकमको सुरक्षा गर्ने जिम्मेवारी सञ्चालकहरुको हो र सहकारीलाई संकटमा पर्न नदिनका लागि समयमै ऋण भुक्तान गर्ने जिम्मेवारी ऋणी सदस्यहरुको हो भन्नुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष लाल बहादुर थापाले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राजनीतिक दलहरु सहित सबै सरोकारवालाहरुका बीच ऐक्यवद्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारीबाट ऋण लगेर तिर्न पर्दैन भन्ने सोच भएकाहरुका विरुद्धमा राजनीतिक दलको ऐक्यवद्धता हुन्छ, सहकारीबाट ऋण लगेर घरजग्गा जोडेको छ, सानदार जीवन विताएको छ तर ऋण तिर्दैन भने त्यस्ताको हकमा सबै मिलेर दवाव दिनु पर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोखरेलले वाद, सिद्धान्त, पार्टी, आफन्त, छिमेकी जस्ता कुरालाई त्यागेर सहकारीको समस्याको निर्मम पहिचान गरी समाधानमा ऐक्यवद्धताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । केही सिमित व्यक्तिको बद्मासीको असर आम सहकारी क्षेत्रमा पर्नु दुखद भएको भन्दै उहाँले आन्तरिक कमी कमजोरी सुधार गर्दै बाह्य वातावरण सहज बनाउन सबै जुट्नु पर्ने बताउनभयो ।

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष बाबुकाजी केसीले सहकारीको ऋण नतिरे पनि हुन्छ भन्ने बजार हल्लालाई चिर्न सहकारी अभियान, राजनीतिक दल र प्रशासन लगायत सरोकारवालाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । एकाध व्यक्तिहरुले नियतवश गरेका गलत कामका कारण सिंगो सहकारी क्षेत्रलाई बद्नाम गराउने काम भएको छ, यस्तो अवस्थालाई सुधार गर्नका लागि सबै सरोकारवालाहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा विषयवस्तुका बारेमा जानकारी गराउदै जिल्ला सहकारी संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राजनीतिक दलहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, ,उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्ला सहकारी संघले सहकारीको ऋण असुली कार्यमा सहयोग गर्न जिल्लाका १० वटै पालिकाहरुलाई आव्हान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *