बेनी नगरमा खेल मैदानका लागि उत्कृष्ट चार स्थान

अमृत बास्कुने, म्याग्दी
बेनी नगरपालिका क्षेत्र भित्र खेल पूर्वाधार निर्माणका लागि उचित स्थान नदेखिएको भन्ने गरिएतापनि सदरमुकाम बेनी नजिकैका चार स्थान खेल पूर्वाधारका लागि उत्कृष्ट हुन सक्ने सरोकारवालाको धारणा छ । बेनी नगरपालिका–१ रत्नेचौरको खेल मैदान, बेनी नगरपालिका–४ सुर्केमेला, बेनी नगरपालिका–५ चुत्रेनी र बेनी नगरपालिका–७ बेनी बजारको खुल्ला मञ्च खेल पूर्वाधार बिकास र स्तरोन्नतीका लागि उत्कृष्ट हुन सक्छन् ।

रत्नेचौरमा रहेको संरचनालाई नै उत्कृष्ट तबरले नै स्तरोन्नती गर्न सकिने अवस्था छ । त्यस्तै सुर्केमेला, चुत्रेनी र बेनीका मैदानहरुको पनि संरचनागत रुपमा विकास गर्नका लागि उत्कृष्ट र उत्तम बिकल्प रहन्छ त्यस्तै सुर्केमेला, चुत्रेनी र बेनीका मैदानहरुको पनि संरचनागत रुपमा विकास गर्नका लागि उत्कृष्ट र उत्तम बिकल्प रहन्छ । विश्वका धेरै मुलुकहरुले गर्ने आम्दानी हेर्दा खेल पर्यटन पनि एउटा बलियो पाटो हो । खेल पर्यटनका साथै खेलाडीले गर्ने आम्दानीबाट लिएको कर पनि ब्राजिल तथा अर्जेन्टिनाले निकै राम्रो आम्दानी गर्ने गरेका छन् । खेल मैदान तथा खेलकुदको पूर्वाधार निर्माणका साथै खेल संस्कारको विकास गर्न सकेको खण्डमा खेल क्षेत्रबाट पनि नगरपालिकाले आम्दानीको श्रोत बनाउन सक्छ । नगर क्षेत्र भित्र हुने खेलकुदका प्रतियोगिताबाट मैदान भाडाका साथै त्यस समय हुने ब्यापारले पनि नगरको आम्दानी बढाउनका लागि कोशेढुंगा हुन्छ ।

रत्नेचौर खेलमैदान
बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको खेल मैदानको नगरपालिकाले अपनत्व लिएर व्यवस्थापन गरेको खण्डमा म्याग्दीका साथै बागलुङको लागि पनि खेलकुद गतिबिधि गर्नका लागि राम्रो हुने देखिन्छ । मैदानमा हुने खेलगतिबिधिका लागि स्थानीयको साथ र सहयोग त्यस्तै रहेको छ भने खेल मैदान पनि सुन्दर अनि जोखिम रहित छ ।

स्थानीय स्तरबाटै प्रयास गरेर क्षेत्रीयस्तरको खेलमैदान बनाउने उद्देश्यका साथ २०७७ सालमै युवा तथा खेलकुद मन्त्रालयको पचास लाख बजेट र स्थानीयको ६ लाख बराबरको श्रमदानमा खेलमैदानको डिलतर्फ ६० मिटर लम्बाई र ४ मिटर चौडाई भएको प्याराफिट लगायतको पूर्वाधार निर्माण गरिसकिएको छ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा सुरु भएको खेलमैदान स्तरोन्नतीका लागि प्याराफिटमाथि करिब १० फिट अग्लो तारजाली समेत लगाएको स्थानीय बासिन्दा गणेश बोगटीको भनाई छ । खेलमैदान निर्माण गर्ने हेतुले बनाइएको डिपिआर अनुसारकै संरचना बनाइरहेको र खेलमैदानभित्र आवश्यक पर्ने पूर्वाधार थप्दै जाने योजना रहेको पनि उहाँको भनाई छ । क्षेत्रीयस्तरको खेलमैदानका लागि प्रतिनिधिसभाका पूर्व सदस्य थापाको अग्रसरतमा ५ करोडको डिपिआर बनेको थियो ।

उक्त खेलमैदानभित्र फुटबल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेलहरु सञ्चालन गर्न मिल्ने वडा अध्यक्ष टेकबहादुर थापाको भनाई छ । म्याग्दीको सदरमुकाम बेनीपछि सबैभन्दा धेरै खेलकुद गतिविधि हुने खेलमैदान समेत रहेकाले भविष्यमा क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता समेत सञ्चालन गर्न सकिने स्थानीय युवा मन्नु रावलको भनाई छ ।

खेलमैदान २ सय मिटर लम्बाई र ११० मिटर चौडाई भएको हुनाले ११ ए साइड फुटबलका साथै अन्य खेल गतिबिधिका लागि पनि उत्कृष्ट हुने रत्नेचौर खेलमैदानलाई दिर्घकालिन योजना सहित अगाडी बढाउन सकेको खण्डमा नगर, जिल्ला, प्रदेश साथै मुलुककै खेलकुद गतिबिधिमा राम्रो योगदान दिन सकछ ।

सुर्केमेला खेलमैदान
बेनी नगरपालिका–४ सिंगाको सुर्केमेलामा रहेको शिवालय आधारभुत विद्यालय सँगै रहेको खेल मैदान फुटबल तथा क्रिकेट खेलका लागि उत्कृष्ट मैदानका रुपमा बिस्तार गर्न सकिन्छ । विगतमा गाउ विकास समितिको संरचना रहेको समयमा तत्कालिन सिंगा गाविसको ३ नम्बर वडाका लागि भनेर स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी संख्या घट्दो क्रममा रहेकोले पनि उक्त स्थानको सदुपयोगका लागि पनि खेल मैदान निर्माण गरिनु उत्कृट हुने देखिन्छ । ११ ए साइड फुटबल मैदान रहेको उक्त स्थानमा म्याग्दी नदि तर्फको बगरको केही भाग लिएको खण्डमा क्रिकेट मैदानकै रुपमा पनि विस्तार गर्न सकिने भएकोले पनि उक्त स्थानमा खेल पूर्वाधार विकास गर्नु पर्ने सुर्केमेलाका युवा चुमान पुनको भनाई छ ।

घाँस युक्त उक्त खेल मैदानका लागि केही मात्रामा म्याग्दी नजिको जोखिम देखिन सक्ने भए पनि त्यसका लागि नदि नियन्त्रण कार्य गरेको खण्डमा उचित मैदान बन्ने पुनको भनाई छ । सिंगा र आंगेबगर जोड्ने पक्की पुलका लागि बजेट परेको कारणले गर्दा पनि सुर्केमेला खेल मैदान सम्म पुग्नका लागि यातायातकै साधन हुने र बेनी–५ सजेर्नीमा रहेको झोलुङ्गे पुल तरेर तथा बेनी–हाँडेभिर–बरंजा सडक प्रयोग गरेर पनि पुग्न सकिने भएकाले पनि उक्त स्थान खेलकुद मैदानका लागि सम्भावना युक्त देखिन्छ ।

वि.सं. २०५० को दशक सम्म सुर्केमेलामा रहेको शिवालय मन्दिरमा शिवरात्रीको समयमा भव्य पुजा आरधना हुने र सोही अवसरमा खेलकुद कार्यक्रमहरु आयोजना हुने गरेको भए पनि पछिल्लो समय ग्रामिण भेकमा भएको जनसंख्या गिरावटले गर्दा मेलाहरु कम हुँदै गएकोले पनि सुर्केमेलाको खेलमैदान करिब प्रयोग बिहिन जस्तै बनेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको जन्मस्थान सिंगा नजिकै रहेको उक्त खेल मैदानका लागि उचित तबरले बृहत योजना बनाएर अगाडी बढाउन सकेको खण्डमा खेल पर्यटक भित्राउनका लागि महत्वपूर्ण कोशेढुंगा हुने सिंगाका स्थानिय गणेश पौडेलको भनाई छ ।

चुत्रेनी खेल मैदान
बेनी–दरवाङ सडक खण्ड अन्तरगत पर्ने बेनी नगरपालिका–५ चुत्रेनीमा रहेको खेल मैदान सदरमुकाम बेनी नजिकै रहेको अर्को महत्वपूर्ण मैदान हो । बालजागृती आधारभुत विद्यालय सँगै रहेको उक्त मैदानको विस्तृत आयोजना प्रतिबेदन(डिपिआर) तयार गरेर अगाडी बढाउन सकेको खण्डमा खेल क्षेत्रको विकासमा योगदान पुग्छ । खेलकुदको क्षेत्रमा धेरै योगदान र चर्चा हुने गरेको भएतापनि युरोपियन तथा अमेरिकी क्षेत्रमा फुटबलको निकै चर्चा र लगाब देखिन्छ । त्यस्तै युरोपको इङल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड जस्ता मुलुकमा क्रिकेट तथा अफ्रिकी महादेशका साथै एसियामा पनि क्रिकेटको क्रेज बढेको अवस्था छ ।

पछिल्लो समय दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल ट्वान्टी ट्वान्टी विश्वकप खेलेकै आधारमा पनि क्रिकेटको क्रेज कति सम्म बढ्यो भनने अनुमान लगाउन मुस्कील हुदैन । त्यसैले पनि चुत्रेनीमा रहेको खेल मैदानलाई क्रिकेट संगै फुटबल खेल्न मिल्ने तबरले बिकास गर्न पर्ने क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको भनाई छ । म्याग्दी क्रिकेट संघको अगुवाइमा बेनी तथा चुत्रेनी र रत्नेचौरमा पछिल्लो समयहरुमा शनिबार तथा बिदाको दिनमा क्रिकेट खेल हुने गरेकोले पनि क्रिकेट तर्फ नयाँ पुस्ताको पनि लगाब बढेको देखिन्छ । चुत्रेनी खेल मैदानमा अभ्यास गर्ने गरेका चुत्रेनीका युवाहरुको फुटबलमा राम्रो प्रभाव पनि देखिन्छ । चुत्रेनीकै प्रविन हमाल ए डिभिजन लिग फुटबल क्लब हिमालयन शेर्पामा आबद्ध हुनु भएको थियो ।

बेनी बजारको खुल्ला मञ्च
२०५१ सालमा तत्कालिन प्रतिनिधिसभा सदस्य निलबहादुर तिलिजाले मैदान व्यवस्थापनको बजेट ल्याए सँगै बेनी बजारको खुल्ला मञ्चलाई खेल मैदानको रुपमा स्तरोन्नतीको शुरुआत भएको मान्न सकिन्छ । सांसद विकास कोषबाट एक लाख रुपियाँ बजेट खेलमैदानका लागि हाले पछि यसलाई स्तरोन्नती गर्दै अगाडी बढाउने प्रयास थालनि भएको देखिन्छ ।

२०७२ मा जिल्ला खेलकुद विकास समितिमा कृष्णकुमार विश्वकर्मा अध्यक्षका रुपमा आए पछि खेलमैदानको प्याराफिट व्यवस्थीत गर्ने र तारबारका लागि प्रयास थालनी भएको थियो । सुन्दर नगरी बेनी बजारको आकर्षको रुपमा रहेको म्याग्दी र कालिगण्डकी नदिको दोभानमा रहेको उक्त मैदानलाई व्यवस्थीत गर्नका लागि २०७४ सालमा नौ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिबेदन(डिपिआर) बनेको विश्वकर्मा बताउनुहुन्छ ।

पछिल्लो दुई वर्ष बेनी नगरपालिकाले विनियोजन गरेको बजेटले खेल मैदानको मुहार फेर्नका लागि पाइला चालेको महशुष भएको पक्कै हो । आगामी दिनमा पनि यस मैदानलाई व्यवस्थीत गर्नका लागि बजेट व्यस्था गर्दै प्रदेश तथा संघिय सरकारमा पनि पहल कदमी गरेको खण्डमा चाडै नै मैदानले आकर्षक रुप देखाउने पक्का छ । हालको अवस्थामा भलिबल, फुटबल, क्रिकेट साथै अन्य हरेक प्रकारका कार्यक्रम आयोजना गर्ने थलोको रुपमा रहेको यो खेल मैदानलाई अझै आकर्षक र व्यस्थीत बनाएर अगाडी बढ्न आवश्यक छ ।

मैदानमा हुने खेलकुद बाहेकका गतिबिधिलाई रोक लगाउनु पनि अहिलेको टड्कारो आवश्यकता हो । खेल गतिबिधिका लागि आवश्ययक पर्ने तबरले निर्माण गरिएको मैदानमा अन्य कार्यक्रम हुँदा मैदान बिग्रने र खेलाडीहरुका लागि जोखिम हुने भएकाले पनि अन्य गतिबिधि रोक लगाउँदै जानु पर्ने आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *