मृतकका परिवारलाई ६ लाख ५० हजार राहत


आदर्श अनलाइन, बागलुङ

मनसुन जन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु. ६ लाख ५० हजार नगद राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुन जन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुन जन्य विपद्बाट मृत्यु भएकाको परिवारलाई संघीय सरकार र प्रदेश सरकारको तर्फबाट आएको राहत प्रदान गरिदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

२७ गते राती बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माको छोरी निर्मला शर्मालाई रु. दुईलाख ५० हजार नगद राहत प्रदान गरिसकिएको सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार संघीय सरकारको रु. २ लाख र प्रदेश सरकारको रु. ५० हजार रकम मृतकको परिवारालई प्रदान गरिएको छ । यस्तै असार १५ गतेको राती अबिरल वर्षाले घर पुर्दा श्रीमान श्रीमतीको मृत्यु भएको थियो ।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान श्रीमतीको परिवारलाई रु. चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *