गलेश्वरधाममा जेष्ठ नागरिकका लागि सभाहल निर्माण

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा जेष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको सभाहलको शुक्रबार उद्घाटन गरीएको हो ।

आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्न मिल्ने बहुउद्देश्यीय तबरले निर्माण गरिएको उक्त हलका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा जेष्ठ नगारिक आश्रमलाइ लक्षित गरी सञ्चालित सामुदायिक स्वास्थ्य इकाईको भवनको माथिल्लो तलामा फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहल दुई सय जना राखेर सभा गर्न मिल्ने क्षमता रहेको छ ।

विगतमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू खुल्लाचौरमा गर्नुपर्ने बाध्यता थियो अब त्यो हटेको छ, सभाहलमा दिउँसो टेलिभिजनबाट प्रवचन सहित दृष्य हेर्ने सुविधा थप्ने समेत योजना रहेको अध्यक्ष पुनले भन्नुभयो ।

भवन उद्घाटन कार्यक्रम बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्रबहादुर केसीले समुदायस्तरबाट ज्येष्ठ नागरिकको आश्रम सहितका संरचना ब्यवस्थापन गरिएको बताउँदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि सामाजिक उत्तरदायित्वका लागि कामहरु गर्दै आएको र अझै धेरै गर्नु पर्ने उहाँको तर्क थियो ।

सोही अवसरमा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले ज्येष्ठ नागरिककालागि पर्ने आवश्यकतालाई पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले गलेश्वर शिवालयमा भक्तजनले चढाएको भेटीबाट सभाहल बनाइएको बताउनुभयो ।

त्यस्तै गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले कोष, आश्रम र अन्न क्षेत्र बिचको सहकार्यलाई थप बलियो बनाउने बताउनुभयो । ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको अध्यक्षता, सचिव लक्ष्मण चालिसेको संचालन र आश्रमका उपाध्यक्ष टिकानन्द सुवेदीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा आश्रममा आश्रय लिइरहनु भएका ज्येष्ठ नागरिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना जेष्ठ नगारिकहरुले आश्रय लिइ रहनु भएको अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *