२५ औं अरुण स्मृति दिवसमा बागलुङमा सांगितीक साँझ

आदर्श अनलाइन, बागलुङ
नेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २५ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति सांगितिक साँझको आयोजना गरी उनको सम्झना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ बागलुङ, मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस इकाई समिति, मगर युवा संघ र मगर सांस्कृतिक संघको संयुक्त आयोजनामा बागलुङको फेमिली गार्डेन रेष्टुरेन्टमा कलाकारहरुले अरुण थापाको गित गाएर उनको सम्झना गरे ।

कलाकार रमेश राजभण्डारीले थापाको एक मात्र भजन तिमी राम राम भजी बाँच बोलको गित गाएर साँझको सुरुवात गरेका थिए । कलाकार ताराप्रसाद श्रेष्ठले अरुण थापाको सर्वाधिक लोकप्रिय गित ऋतुहरुमा तिमी हरियाली बसन्त हौ बोलको गित प्रस्तुत गरे । प्रेम बुढाले जति माया लाए पनि जति कसम खाए पनि, सागर सुनारले आँखाको निद खोसी लाने, किशोर थापाले भुल भुलु लाग्यो मलाई सपनीमा, दोष कसैलाई दिन चाहान्न, म रोए पनि तिमी हाँसी दिनु र सूर्य घतानेले चोट के हो, व्यथा के हो बोलको गित गाएका थिए ।

त्यसका अलावाका कलाकार शुभराम भारीले स्वर सम्राट नारायण गोपालको आजै र राती के देखें सपना मै मरिगएको र अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा बोलको गित स्वर्गीय अरुण थापाप्रति समर्पित गरे । अरुण स्मृति साँगितिक साँझमा कलाकार रिमा थापा प्रसाइँले गाईने दाई र सागर सुनारले चौतारीमा बसेर रुन पाप बोलको गित गाएका थिए । उक्त साँझमा कलाकार रमेश राजभण्डारीले पोखरामा अरुण थापासंगको आफ्नो भेट र उनीसंगका स्मृतिहरु बारेमा चर्चा गरेका थिए । नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष डम्मर बुढा मगरको अध्यक्षतामा भएको सांगितिक साँझको सञ्चालन पत्रकार संगम घर्तीमगरले सञ्चालन गरेका थिए ।

नेपाली सुगम संगित क्षेत्रका चर्चित गायक अरुण थापाको जन्म विक्रम संम्वत २००९ साल माघ महिनाको ११ गते बुबा गुञ्जप्रसाद थापा मगर र आमा शान्ति थापा मगरको जेठो सन्तानको रुपमा भारतको कलकत्ता स्थीत नेपाली महावाणिज्य दुतावासमा भएको थियो । अरुण थापा मगरका बुबा गुञ्जप्रसाद थापा नेपाल बैंकमा वरिष्ठ अधिकृत थिए त्यसैले उनले बालापन सुख सयलमै बिताए ।
दुई भाई र एक बहिनीका दाजु अरुणको प्रारम्भीक शिक्षा जेपी हाईस्कूल ठमेलबाट शुरु भएको थियो । बालापन देखि नै स्वर्गीय गायक अरुण थापा मगरले किताबी ज्ञानभन्दा पनि गित संगितमा रुचि राख्दथे र पौडी खेल्नमा पनि उनी सानै देखि निकै सौखिन थिए । विद्यालय तहको शिक्षा दार्जिलिङबाट हाँसिल गरेका अरुण थापा मगरले विक्रम संम्वत् २०२८ सालमा १९ वर्षको उमेर जेपी हाईस्कूल ठमेलबाटै एसएलसी पास गरे । केहि समय विराटनगरको बैंकमा जागिरे समेत भएका अरुणले गित संगित मोहकै कारण जागिर छाडेर विक्रम संम्वत् २०३० सालतिर पोखरामा बस्न थालेका थिए । पोखराको बसोबास संगै अरुणले आफ्नै बाबुका कारणबाट संगितकार नातीकाजी र शिवशंकरसंग भेट गरे ।

गायक अरुण थापा मगरले २०३२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि आश्विन गुरुङको रचना र ओम विक्रम बिष्टको संगितमा कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुने ठूलो छ संसार बोलको गीत रेकर्ड गराएका थिए । उनको पहिलो गीतले खासै लोकप्रीयता पाउन सकेन । त्यसपछि २०३४ सालको अन्त्यतिर ऋतुहरुमा तिमी …. र २०३६ सालमा जति माया लाए पनि….. बोलको गीत गाएपछि उनको चर्चा देश विदेशमा सर्वत्र हुन थाल्यो । उनले गाएको ऋतुहरुमा तिमी ……बोलको गीत तत्कालिन समयमा बीबीसीले गरेको विश्व सर्वेक्षणमा विश्वका उत्कृष्ट दश गीतमध्ये सातौं स्थानमा पर्न सफल भएको थियो ।

पिएन क्याम्पस पोखरामा पढ्दै गर्दा उनको थापाले मेरो जीवन कोरा कागज बोलको गीत गाएपछि पोखरा निवासी विमला पालिखेले प्रेम प्रस्ताव राखेकी थिईन् । २०३४ सालको माघ महिनामा ओमविक्रम विष्ट लगायत केही साथीहरुको मात्र उपस्थीतिमा अरुणले भागेर काठमाण्डौंको गुह्येश्वरी मन्दिरमा विमलासंग विवाह गरे । पारिवारिक सहमती बेगर विबाह गरेकाले उनीहरुलाई माईती पक्षले छुटाउने निकै प्रयास गरे । पारिवारीक दबाबबाट बच्न आफन्त कहाँ लुक्नेसम्म काम गरे अरुण र विमलाले ।

अरुण र बिमलाको प्रेम छुटाउने प्रयास असफल भएपछि माईती पक्षले सम्बन्ध स्वीकार गरेको नाटक रचे । माईतीसंगको सम्बन्ध सहज जस्तो देखिएपछि अरुणले पनि विमलालाई माईतीमा जान दिन थाले । केही समयपछि घर पर्कादिने भनेर विमलालाई माईती पक्षले पोखरा ल्यायो । अरुण संगित साधनामै तल्लिन थिए । अरुण र विमलाको सम्बन्धलाई स्वीकार गरेको नाटक गरेको माईती पक्षले बिमलाको पोखरामै अर्कैै परपुरुषसंग विवाह गरिदियो ।

जूनी जूनी संगै जिउने मर्ने बाचा कसम खाएकी जीवन संगिनीले अर्कैसंग लगनगाँठो कसेको खबर पाएपछि अरुण विक्षिप्त उनले विमलाको याद भुलाउने र आफुलाई सम्हाल्ने बहानामा नशालु पदार्थको सेवन गर्न थाले । बिमलासंग सयौं जूनी संगै जिउने भनि गरेको बाचा कसम तोडिएपछि अरुणले आफ्नो जीवनसंग मेल खाने खालका गितहरु गाउन थाले । उनले गाएको चोट केहो व्याथा के हो म जस्तो घाईतेलाई सोध….. बोलको गित निकै चर्चित पनि भयो ।

प्रेम विवाह र बिछोडको अनुपम र दर्दनाक दुबै खाले पिडा सहन गरिसके पनि अरुणको सिंगो जिन्दगी बाँकी थियो । पुराना कुरालाई छोडेर नयाँ जिन्दगी अगाडी बढाउन उनले ललितपुर निवासी मुना केसीसंग उनले परिवारको सहमति बिना नै दोस्रो बिहे गरे । जसका कारण उनको परिवारको अन्तरकलह बढेर गयो र उनको परिवार नै छिन्न भिन्न हुने अवस्था आईपुग्यो ।

त्यतिबेला गित संगित अहिले जस्तो आम्दानीको पेशा थिएन । अरुणले अरु कुनै पनि काम गरेनन् । आम्दानीको बाटो नभएपछि अरुणको परिवार आर्थिक रुपमा कमजोर हुँदै गयो । आर्थिक समस्याको दलदलमा फसेपछि २०४४ सालमा श्रीमतीको नाममा भएको जग्गा पनि अरुणले बेच्न पुगे । आम्दानी कतैबाट छैन । भएको सम्पत्ती पनि बेचेर सकिएपछि अरुण र मुनाबीच पनि मनमुटाब बढ्यो । अन्ततः अरुण रु मुनाबीचको प्रेम पनि बिचैमा टुङ्गीयो । उनीहरुले सम्बन्ध विच्छेद गरे । दोस्रो घरबार पनि असफल भएपछि अरुण फेरि लागुपदार्थको सेवन गर्न थाले ।

अवैध लागूऔषध प्रयोगको अभियोगमा २०४५ सालमा पक्राउ परेपछि करिब १५/१६ महिना जेल जीवन समेत बिताए । जेलबाट छुटेपछि उनी फेरि गायनमै तल्लिन भए । तर लागूपदार्थको सेवन गर्न भने छाडेनन् । फलतः लागूपदार्थको सेवनले उनको कलेजोमा हेपाटाइटीस ‘बी’ को संक्रमण भयो । करिब ५÷६ महिनाको छट्पटाईपछि २०५६ साल साउन ५ गते बाघबजार स्थीत कान्तिपुर गेष्टहाउसमा उनको मृत्यु भयो । नेपाली गित संगितको चर्चित कलाकारले गुमनाम जीवन परित्याग गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *