बेनी–जोमसोम सडक खण्डमा पहिरोले बाइक पुरीयो, चालक सकुशल


अमृत बास्कुने, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने सडक कालीगण्डकी करिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरिएर क्षती भएको छ भने चालक सकुशल हरनु भएको छ ।

म्याग्दी सदरमुकाम बेनी देखि अन्नपुर्ण गाउँपालिका–५ शिखतर्फ जादै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको २२० सिसिको मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक अन्नपुर्ण गाउँपालिका–५ का ४४ वर्षिय बाबुराम गर्बुजा भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार पहिरो झर्न थाले पछि मोटरसाइकल त्यही छाडेर चालक भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।

अन्नपुर्ण गाउँपालिका–५ का वडा अध्यक्ष रमेश तिलिजा पुनले पहिरोमा परेर बाबुरामको मोटरसाइकलमा क्षती भएको भए पनि व्यक्तिलाई भने केही नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘शनिबार राती पहिरोमा परेको रहेछ, मैले बिहान थाहा पाएँ, मोटरसाइकलमा क्षती भएको भए पनि मान्छेलाई केही भएको रहेनछ ।’

बर्षात बाहेक अन्य समयमा पनि उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले आवतजावतमा सर्तकता अपनाउनुपर्ने देखिएको अन्नपूर्ण गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । उहाँका अनुसार बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्ने समस्याले यात्रालाई थप जोखिमपूर्ण बनाएको हुनाले सबैले सचेत रहँदै यात्रा गर्नु पर्ने भएको छ ।

यसैबीच बेनी–जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *