बागलुङका शिवालयमा दर्शनार्थीको भीड


आदर्श अनलाइन, बागलुङ
साउनको पहिलो सोमबार बागलुङका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बागलुङका प्रसिद्ध शिव मन्दिर गौरिधाम शिव मन्दिर, ओदानेश्वर महादेव, शिवालय मन्दिर बिहुँ लगायतका मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । शिवभक्तले साउने सोमबार उपबासना सहित शिवालयमा दर्शन गर्न पुग्ने गर्दछन् ।

यसवर्ष चार सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले जानकारी दिनुभयो ।

भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सुरक्षा, खानेपानी तथा लाइनमा बस्ने व्यवस्था मिलाइएको छ । गौरिधाम शिव मन्दिर यस क्षेत्रकै प्रसिद्ध शिव मन्दिरको रुपमा रहेको छ ।
यस्तै काठेखोला गाउँपालिका–७ ओदानेश्वर महादेव मन्दिर, बागलुङ नगरपालिका–९ स्थित तित्याङ शिवालय मन्दिर लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआराधना गर्न शिवालयमा पुग्ने गर्छन् ।

यस्तै काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका–७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *