एमाले सहकारी विभागको अभियान : ‘बचतको सुरक्षण र ऋण असुलीमा प्रभावकारिता’

आदर्श अनलाइन, काठमाडौं
नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । विभागका प्रमुख तथा पार्टीका स्थायी कमिटि सदस्य खगराज अधिकारीको अध्यक्षतामा बुधवार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सहकारीमा बचतको सुरक्षा र ऋण असुलीमा प्रभावकारिता ल्याउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहकारीका सदस्यहरुले बचत गरेको रकमको सुरक्षा गर्नका लागि सरोकारवालाहरुलाई जिम्मेवार बनाउने तथा सहकारीबाट लगेको ऋण समयमा भुक्तानी गर्नका लागि ऋणी सदस्यहरुलाई सचेत बनाउने गरी देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने विभागले जनाएको छ ।

सहकारीको शुद्धीकरण र सुदृढीकरणका लागि एमाले सहकारी विभागले सात वटै प्रदेशमा भेला, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार लगायत सहकारी अभियान र अन्य सरोकारवालाहरुको समेत सहभागितामा सबै प्रदेशमा जागरण अभियान सञ्चालन गर्नका लागि विभागका सदस्यहरुलाई जिम्मेवारी समेत तोकिएको छ ।

सहकारीमा जम्मा भएको बचत सञ्चालक लगायत नेतृत्वमा रहनेहरुले अपचलन गर्ने तथा संस्थाबाट लगेको ऋण समयमा नतिर्ने, तिर्न आलटाल गर्ने प्रवृतिका कारण सहकारी क्षेत्रमा देखिएको समस्या दिन प्रतिदिन बढ्दै गएको भन्दै विभागले सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीहरुका बारेमा कानुन अनुसार कार्वाही गर्ने, समस्या उन्मुख सहकारीहरुलाई सहजीकरण गर्दै संरक्षण गर्ने र असल सहकारीहरुको प्रवद्र्धन र विकास गर्ने योजना अगाडि बढाउन सरोकारवालाहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्न लागिएको विभागका प्रमुख खगराज अधिकारीले बताउनुभयो ।

सरकारले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई पार्टीका तर्फबाट दिइने सुझावका बारेमा बैठकले छलफल गरी ३ दिन भित्र सुझाव पेश गर्ने तयारी गरेको विभागका सचिव परितोष पौड्यालले जानकारी दिनुभयो ।

पार्टीका तर्फबाट संसदीय छानविन विशेष समितिलाई दिने सुझावका बारेमा छलफल गरी विभागका सदस्यहरुबाट सुझाव मागेका छौ, सहकारी क्षेत्रको समस्या समाधानका लागि एमालेको स्पष्ट दृष्टिकोण सहितको सुझाव दिन्छौ सचिव पौड्यालको भनाइ छ ।

एमालेले बचतको सुरक्षणलाई पहिलो प्राथमिकतामा राखेर सहकारीबाट ऋण लगेर नतिर्नेहरुको बारेमा पनि सरकारले कडा नियम बनाउनु पर्नेमा जोड दिएको छ । सहकारीका ऋणीहरुलाई ऋण तिर्ने वातावरण सिर्जना गर्ने, ऋण असुलीमा अटेर गर्ने ऋणीलाई कार्वाही गर्नु पर्नेमा एमालेले जोड दिएको छ ।

बैठकले सहकारी संस्थाको शुद्धिकरणका लागि संस्था र सदस्यबीचको विश्वास बढाउन, संस्थामा सदस्यहरुको स्वामित्व स्थापित गर्न, संस्थाको नीति र नेतृत्वमा सदस्यहरुको नियन्त्रण कायम राख्न तथा संस्थाको लाभ र हानीमा सदस्यहरुको समन्यायिक सहभागितामा जोड दिएको छ ।

यस्तै संस्थाको सुदृढीकरणका लागि तीन तहकै सरकारबाट कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने, अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउने, कारोबारको प्रकृति, सीमा तथा भौगोलिक क्षेत्रका आधारमा सहकारी संस्थाको नियमन सम्बन्धी व्यवस्थामा परिमार्जन गरी उत्पादन र सेवा सहकारीलाई प्रवद्र्धन, आवश्यकताको परिपूर्ति र विकास गर्नु पर्ने विभागले सुझाव दिएको छ ।

बैठकमा एमाले केन्द्रीय सचिवालय बैठकबाट सचिवमा चयन भएका परितोष पौड्यालको पदस्थापन तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य नियुक्त भएकोमा महासंघका सञ्चालक काशीचन्द्र बराललाई बधाई ज्ञापन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *