गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


आदर्श अनलाइन, पर्वत

म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्गता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ ।

गाउँकार्यपालिकाले आफ्नो केन्द्र लामाखेतमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गर्नुभएको थियो । गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने, सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलिई आफ्नो एम्बुलेन्सले सेवा दिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका भित्र निःशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । २४ घण्टै सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपांगता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निःशुल्क (पैसा नलाग्ने फोन नम्बर) १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *