समस्याग्रस्त सहकारीका बचतकर्ताले छिटै रकम पाउने गरी काम भैरहेको छ : प्रधानमन्त्री ओली

आदर्श अनलाइन, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गंभिरताका साथ लागि परेको बताउनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको टोलीसंंग आइतवार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकार सहकारीको समस्या समाधानमा जुटि सकेको बताउनु भएको हो ।

समस्याग्रस्त सहकारीका कारण पीडित बनेका बचतकर्ताहरुलाई ५ लाख सम्मको रकम फिर्ता गर्ने विषय बजेट र मौद्रिक नीति मार्फत अगाडि बढी सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकसंगको समन्वयमा बजेट वक्तव्यमा उल्लेख भएको ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने कुरालाई छिटै कार्यान्वयन गरिने उहाँले जानकारी दिनु भयो ।

सरकारले जेठ १५ गतेको आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधनका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघर परिवारका सदस्यको नाममा रहेको सम्पत्ती धितो सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने योजना अगाडि बढाएको थियो ।

साउन ११ गते नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बजेट वक्तव्य मार्फत ५ लाख सम्मको बचत फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गर्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीले सहकारी अभियानमा देखिएका समस्याको समाधान गरी मुलुकको आर्थिक तथा सामाजिक विकासमा सहकारीको योगदान बढाउन थप प्रभावकारी रुपले सहकारी क्षेत्रलाई अगाडि बढाउन सरकार, अभियान लगायत सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ ।

नयाँ सरकार बनेदेखि नै आर्थिक गतिविधि बढ्न थालेको छ, मौद्रिक नीतिले थप उत्साह थपिएको छ, अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा सरकार गंभिर रहेको पनि उहाले बताउनुभयो ।

सहकारी अभियान लगायत सरोकारवालाहरुसंग छिटै बसेर सहकारीका समग्र पक्षको सुधारका विषयमा स्पष्ट कार्ययोजना बनाएर सहकारीका समस्या समाधान गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले सहकारीमा समस्या आउनुका कारण, समाधानका उपाय र सहकारीको प्रवद्र्धनमा पार्टी र सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल सरकारले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई पार्टीका तर्फबाट दिने सुझाव तयार पार्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सहकारी तथा गरिवी निवारण विभागका प्रमुख अधिकारीलाई जिम्मेवारी दिनु भएको थियो ।

विभागीय प्रमुख अधिकारीले विभागका सदस्यहरु र सरोकारवालाहरुसंगको परामर्शमा तयार पारेको सुझाव प्रतिवेदन बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

एमाले सहकारी तथा गरिवी निवारण विभागले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै सरोकारवालाहरुसंग सहकार्य गर्ने, सरकारलाई समस्या समाधानमा सहयोग गर्नका लागि अभियान सञ्चालन गर्ने योजना बनाएको विभागीय प्रमुख अधिकारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *