कोल्डस्टोर बन्छन्, प्रयोगमा आउँदैनन्

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीका बेनी नगरपालिकामा एउटा र रघुगंगा गाउँपालिकामा निर्माण भएका –२ वटा कोल्डस्टोर मध्ये एउटा सञ्चालनमा आएको भए पनि दुई वटा भने सञ्चालनमा आउन सकेका छैनन् ।

बेनी नगरपालिका–४ सिंगामा एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ रुपैयाँ लागत स्टमेट गरी निर्माण गरीएको सिंगा कोल्डस्टोर सञ्चालनमा आएको छ । २०७९ फागुन ४ गते निर्माण सम्झौता भएको उक्त कोल्डस्टोर २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो । राजबाबु निर्माण सेवा राजकोट गाउँपालिका–५ जाजरकोट सँग सम्झौता भएको उक्त कोल्डस्टोर निर्माणका लागि एक करोड ५१ लाख २० हजार सात सय ३८ रुपैयाँमा सम्झौता भएकोमा एक करोड ३३ लाख ८ हजार छ सय रुपैयाँ भुक्तानी भएको बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

तीन हजार टन क्षमता भएको उक्त कोल्डस्टोरमा निर्माण सम्पन्न भए पश्चात सुन्तलाको सिजनमा सुन्तला राखेर सफल परीक्षण गरेको उक्त कोल्डस्टोरमा अहिले आलु भण्डारण गरिएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । अहिले म्याग्दी तथा बागलुङका कृषकहरुले ५० केजी तौल भएका तीन सय बोरा आलु राखेको उहाँले बताउनुभयो । प्रतिकिलो १० रुपैयाँ शुल्क लिएर आलु राखिएको र अब सुन्तलाको सिजनमा सुन्तला राख्ने योजना रहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी रघुगंगा गाउँपालिका–२ भगवतीमा एक करोड १३ लाख ४८ हजार आठ सय ८५ लागत स्टमेट गरीएको कोल्डस्टोर निर्माणका लागि डोलेस्वार महादेव निर्माण तथा सप्लायर्स प्रालि काठमाडौं सँग ठेक्का मार्फत गाउँपालिकाले ९१ लाख दुई सय १७ रुपैंयाँ २५ पैसामा सम्झौता गरेको थियो । कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको भए पनि निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि उक्त कोल्डस्टोर सञ्चालनमा आउन सकेको छैन ।

रघुगंगा गाउँपालिका–२ का अध्यक्ष अमृत भण्डारीका अनुसार भवन र देखिने चिज बन्यो तर भित्री कामहरु अझै पनि बाँकी रहेको हुनाले सञ्चालन गर्नसकिएको छैन । तारबार गर्ने तथा भित्र आवश्यक पर्ने कृषिउपज राख्नका लागि आवश्यक पर्ने क्रेटलगायतका पूर्वाधार नहुँदा सञ्चालन गर्न कठिन भएको उहाँको भनाई छ । गाउँपालिका भित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुंगा साबित हुने अपेक्षा गरेको भए पनि सञ्चालन नै नहुने हो कि भन्ने डर लाग्न थालेको कृषकको भनाई छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती र ३ पिप्ले क्षेत्रमा सुन्तला जातका फलफूल तथा आलुलगायतका उत्पादनलाई कोल्डस्टोरमा राखेर अफ सिजनमा विक्री गर्न सकेको खण्डमा कृषकले राम्रो मुल्य पाउने अपेक्षा सहित निर्माण गरिएको वडा अध्यक्ष भण्डरीको भनाई छ ।

त्यसैगरी रघुगंगा गाउँपालिका–६ झिँ उपभोक्ता समितिले २३ लाख ४६ हजार छ सय ६७ रुपैयाँमा सम्झौता गरेर निर्माण गरेको कोल्डस्टोर पनि दुई वर्ष सम्म पनि सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष मनबहादुर शेरपुञ्जाको भनाई छ । गाउँपालिकाको १९ लाख ६० हजार र उपभोक्ता समितिको दुई लाख १७ हजार छ सय ६० रुपैयाँ बराबरको जनश्रमबाट २० मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण भएको भए पनि अन्य भित्रको फिनिसिङ गर्नका लागि गाउँपालिकामा ताकेता गर्दा पनि बजेट निकासा नगर्दा सञ्चालन गर्न नसकेको उहाँको भनाई छ ।

कोल्डस्टोरमा रघुगंगा गाउँपालिकाको झिँ तथा पाखापानी एवम् बेनी नगरपालिकाको पात्लेखेतका कृषकले पनि आलु भण्डारण गर्नका लागि सेवा लिन सक्ने थिए तर गाउँपालिकालाई बजेट माग्दा सुन्दै सुन्दैन कसरी सञ्चालन गर्ने वडा ध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *