एमाले बागलुङको इन्चार्जमा मना केसी

रोहन जि.सी, बागलुङ

नेकपा एमालेका पोलिटव्यूरो सदस्य मन कुमारी केसी जिसीलाई पार्टीले बागलुङ जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
पार्टी सचिवालयको बिहीवार सम्पन्न वैठकले केसीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

केसी हाल नवलपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो ।पार्टीको नवौ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि नै जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेकी केसी एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपा कालमा जिल्ला सहइन्चार्ज बन्नु भएको थियो ।

एकीकृत पार्टीको केन्द्रीय सदस्य बनेकी केसी दशौ महाधिवेशनपछि पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो । गत वर्ष फरक भुगोलमा पठाउने पार्टीको नीतिपछि केसी नवलपुर जिल्ला इन्चार्जको रुपमा १ वर्ष जिम्मेवारी लिनु भएको थियो ।

यस पटक पार्टीले आफ्नो भुगोलमा नेताहरुलाई खटाउने नीति लिएपछि केसी पुनः जिल्ला इन्चार्जको भूमिकामा फर्कनु भएको छ ।

एमाले सचिवालय वैठकले बागलुङका एमाले नेताहरु मध्ये पोलिटव्यूरो सदस्य लिल बहादुर थापा मगरलाई बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को इन्चार्ज तोकेको छ । यस भन्दा पहिला थापा गोरखा जिल्ला इन्चार्ज रहनु भएको थियो ।

केन्द्रीय सदस्यहरु डा.सूर्य पाठकलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज, गोविन्द बहादुर नेपालीलाई प्रदेश सभा २(२) को इन्चार्ज, इन्द्रलाल सापकोटालाई प्रदेशसभा १(१) को इन्चार्ज, कृष्ण बहादुर केसीलाई रिटर्नी फाँटको इन्चार्ज र सावित्रा रानालाई प्रदेश सभा १(२) को इन्चार्ज तोकिएको एमालेको सर्कुलरमा उल्लेख छ । सचिवालय वैठकले गलकोट निवासी मञ्जु शर्मा चालिसेलाई केन्द्रीय सदस्य मनोनित गरेको छ । शर्मालाई प्रदेश सभा २(१) को इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बागलुङका ८ जना केन्द्रीय सदस्यहरु मध्ये कृष्ण बहादुर केसी बाहेक ७ जनालाई भुगोलको जिम्मेवारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *