स्याउले सजिएको मुस्ताङ


अमृत बास्कुने, मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङ भन्दासाथ आकर्षक अनि रसिलो स्याउ आम नेपालीको मानसपटलमा आउँछ । ‘क्या राम्रो स्याउबारी मार्फा गाउँमा’ बोलको गितले झन मुस्ताङको मार्फाली स्याउलाई सबैको जिब्रोको स्वाद मात्रै नभएर संगित सँगै पनि जोडेको छ । मुस्ताङको स्याउको स्वादका लागि अब असोज पछि मात्रै थाहा हुनेभए पनि अहिले भने मुस्ताङमा विभिन्न फलफूलहरु लटरम्म फलेर मनमोहक देखिन थालेको छ । मुस्ताङमा स्याउ मात्रै नभएर आरु, आरु बखडा, ओखर, खुर्पानी, कागजी बदाम, नास्पाती लगायतका फलफूलहरुको पनि राम्रो उत्पादन हुन्छ ।

विगतदेखि नै सबैले चर्चा परिचर्चा गर्ने भनेको मार्फाको स्याउ हो । हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा पर्ने मार्फाको स्याउ देश विदेशमा सबैले रुचाउने स्वाद हो । अहिले त्यही मार्फा क्षेत्रको स्याउले बोटमा आफ्नो रङ्गीन छवि देखाइ रहेको छ । स्याउ सँगै खुर्पानी(पलम), कागजीबदाम, नास्पाती जस्ता फलफुलहरु पनि शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलेका छन् । नेपाली बजारमा मिठो स्याउ भन्दासाथ मुस्ताङको मार्फालाई सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने राम्रो फलेको छ ।

मुस्ताङको जोमसोमका शालिग्राम होटलका सञ्चालक अमृत सुवेदी भन्नुहुन्छ –‘यो साल स्याउ आकर्षक देखिएको छ र फलेको पनि धेरै छ जस्तो लाग्छ ।’ गत वर्ष परागसेचनको समयमा पानी परेर राम्रो सँग परागसेचन हुन नपाउँदा कम फलेको स्याउ यस वर्ष भने राम्रो फलेको उहाँले बताउनुभयो । मुस्ताङको मुख्य उत्पादन मानिने स्याउबाट मुस्ताङका कृषकले यो साल राम्रै आम्दानी गर्ने अनुमान गर्न सकिने सुवेदीको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेय भन्नुहुन्छ–‘यस वर्ष गुणस्तरीय स्याउ बजारमा जान्छ, किनभने यस वर्ष रोग कीराको प्रकोप तुलनात्मक रुपमा कम, गत साल जस्तो फूल फुल्ने बेलामा पानी परेन र क्षति कम भयो, पर्याप्त मात्रामा सिंचाइ पनि पुगेकोले स्याउको उत्पादन पनि बढ्न सक्ने अनुमान लगाउन सकिने भएकाले अहिले बोटमा देखिएको स्याउले बजारमा राम्रो प्रभाव पार्न सक्छ ।’ अब स्याउमा स्वाद बढ्ने समय भएकाले अबको एक महिना आकासे पानी कम भएमा स्याउमा राम्रो गुणस्तर आउँछ ।

यो वर्ष चिस्यान राम्रो, मार्फा क्षेत्रमा सिंचाइको पनि व्यवस्था भएको हुँदा यस वर्ष स्याउ उत्पादन बढी हुने देखिएको मार्फाका स्थानीय कृषक दिपक लालचनको भनाई छ । पर्याप्त मात्रामा पुगेको सिंचाइँले पनि स्याउका लागि राम्रो हुन्छ नै सिंचाइ पुग्नुका साथै चिलिङ आवर पुगेकाले स्याउ उत्पादन बढ्ने उहाँको अनुमान छ ।

थासाङ गाउँपालिका टुकुचेका स्याउ कृषक निरज तुलाचनले उच्च घनत्वको स्याउ १६ रोपनी क्षेत्रफलमा र परम्परागत स्याउ २० रोपनीमा लगाउनु भएको छ । उहाँले उच्च घनत्वको स्याउ लगाएको ५ वर्ष भएको र आम्दानी पनि बढ्दै गएको उहाँको भनाई छ । परम्परागत स्थानीय जातका स्याउ राम्रो फल्दा वार्षिक ३२ टन हाराहारी उत्पादन गरेको भए पनि गत वर्ष उत्पादन कम हुँदा २७ टन बिक्री गर्नुभएको थियो । यस वर्ष स्याउको उत्पादन राम्रो हुने देखिएकोले ४० टन हाराहारी बिक्री हुने उहाँको अनुमान छ । टुकुचे क्षेत्रमा स्याउको बोटमा निकै राम्रो दाना लागेको कारण अबको मौसममा केही खराबी भएन भने गत वर्षको तुलनामा उत्पादन र आम्दानी बढ्ने उहाँको भनाई छ ।

मुख्य रुपमा स्याउमा कम फल लाग्नुको कारण भनेको समयमा सिंचाइ नपुग्नुका साथै हिउँ नपर्नु हो, यस वर्ष हिउँ सामान्य परेको भए पनि सिंचाइको राम्रो प्रवन्ध भएको हुनाले स्याउ उत्पादन बढ्ने घरपझोङ गाउँपालिका–५, ढुम्बाका स्याउ खेती गर्ने अगुवा कर्म गुरुङले सुनाउनुभयो । चाहिने बेलामा हिउँ प¥यो अनि हामीले पनि राम्रो केयर गरेको कारणले गर्दा अहिले स्याउ उत्पादन बढ्छ । गत वर्ष दुई करोड हाराहारीको स्याउ बिक्रि गर्नु भएका उहाँले अहिले दुईकरोड भन्दा माथिको स्याउ बिक्री हुने अनुमान गरेको बताउनुहुन्छ ।

फूल खेल्ने बेलामा पानी पर्दा स्याउको उत्पादन घट्छ तर यो वर्ष त्यस्तो भएन टुकुचेका कृषक निरोज तुलाचनले बताउनुभयो । उहाँ भन्नुहुन्छ विगतको वर्षमा ३१ टन सम्म स्याउ विक्री गरेको थिएँ यो साल अझै बढ्ला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *