उच्च शिक्षा सम्बन्धि राष्ट्रिय गोष्ठी म्याग्दी क्याम्पसमा हुने

आदर्श अनलाइन, बागलुङ
म्याग्दी जिल्लाकै पहिला क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसले नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते गोष्ठी गर्ने भएको छ । पहिलोपटक उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको हो । क्याम्पस प्राङ्गणमा हुने गोष्ठी समग्र उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

म्याग्दी वहुमुखी क्याम्पसले बेनीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा साउन ३२ र भदौ १ गते हुने गोष्ठीमा उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा नीति निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र प्रस्तुती हुने म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको यो गोष्ठीमा म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्याम्पसबाट समेत सहभागि हुने बताउनुभयो । उक्त गोष्ठिमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गर्नुहुने छ ।

उक्त राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्ले, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुन र युजिसी नेपालका नारायण भण्डारी लगायतले सहजीकरण गर्नुुहुने छ । गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया, उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा समेत छलफल हुने छ ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सुवेदीले शैक्षिक सुधारका लागि अनुसन्धानमुलक लेख प्रकाशन गर्नेलाई क्याम्पसबाटै सहयोग हुने बताउनुभयो । सोही अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य क्या. मिनबहादुर कार्कीले सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गरी अबका गतिविधि केन्द्रित हुनुपर्नेब बताउनुभयो ।

व्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद आचार्यले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरेलगायत उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *