च्याउ खेतीमा रमाउँदै केसी दम्पती

आदर्श अनलाइन, म्याग्दी
लामो वैदेशिक रोजगारीलाई बिट मार्दै भीमबहादुर केसी आठ वर्ष अगाडि नेपाल फर्कनु भयो । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–८, फर्सेका केसीले आफ्नी श्रीमती सावित्रीले आफ्नै घरमा थालेको च्याउ खेतीमा सहयोग गर्नकै लागि भनेर ८ वर्ष लामो वैदेशिक रोजगारी त्यागेर नेपाल फर्कनुभएको थियो ।

वैदेशिक रोजगारीमा मात्रै जानु पर्छ भन्ने सोँच ब्याप्त नेपाली समाजमा सावित्री र भीमबहादुर फरक उदाहरणको रुपमा हुनुहुन्छ । हालको अवस्था हेर्ने हो भने च्याउ खेतीबाट राम्रै आम्दानी गरिएको छ–सावित्रिले भन्नुभयो । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर च्याउ खेती गर्न थालेको दुई वर्ष पछि श्रीमान पनि वैदेशिक रोजगारी त्यागेर फर्कनु भयो त्यस पछि दुई जनाले मेहनत गरेर च्याउ खेतीलाई नै आफ्नो व्यवसायको रुपम अगाडी बढाएका छौं–उहाँले भन्नुभयो । ठुली छोरी ब्याचलर पढ्दै छिन सानो छोरा यही नजिकै स्कुलमा पढ्छन् हामी कृषिमै मेहनत गरेका छौं शुखसाथ जीन्दगी चलेको छ–उहाँले सुनाउनुभयो ।

No description available.

च्याउ खेती मात्रै नभएर अन्य तरकारी खेती तथा भैंसी पालन पनी गरेका छौं, तरकारीका लागि मल आवश्यक पर्छ भैसी चाहियो अनि दूध पनि त खान परो नि–सावित्रिले भन्नुभयो । तरकारी तथा च्याउ बिक्रीबाट बार्षिक झण्डै ६ लाख भन्दा बढी खुद बचत गर्ने उहाँको अनुभव छ । तीन वटा टनेलमा कन्ये च्याउ तथा गोब्रे च्याउखेती गरेको सावित्रिले सुनाउनुभयो । आफ्नो फर्ममा उत्पादीत च्याउ तथा अन्य सबै तरकारीहरुका लागि बजारको समस्या छैन ।

उहाँले भन्नुभयो–‘फर्सेबाट बागलुङ, म्याग्दी र पर्वतको कुस्मा जता लैजान पनि सकिन्छ ।’ आफूले गरेको दुःख सम्झने मात्रै होइन च्याउ टिप्ने र बजार लैजाने बेलामा भने निकै आनन्द आउँछ अनि च्याउखेतीबाट हुने आम्दानीबाट पनि निकै सन्तुष्ट छु । उत्पादन भएको सामग्री बिक्रीका लागि कुनै पनि समस्या छैन, बरु बजारको माग अनुसार पु¥याउनै नसक्दा भने चित्त दुख्छ ।

डल्लो हुने गोब्रे च्याउको प्रति केजी ५ सय रुपियाँ र छाते च्याउ अर्थात् कन्येलाई २ सय रुपियाँमा बजारमा बिक्री गर्ने गरेको कृषक सावित्रीले बताउनुभयो । गोब्रे च्याउबाट साढे ४ लाख र कन्य च्याउबाट डेढ लाख रुपियाँ बार्षिक सरदर आम्दानी हुने उहाँको भनाई छ । उहाँले ७ रोपनी जमिनमा च्याउ बाहेकका अन्य तरकारी उत्पादन गर्ने र वार्षिक सरदर चारलाख रुपियाँको अन्य तरकारी बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो ।

‘हाइटेक टनेल थपेर बाह्रै महिना च्याउ खेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका कृषकलाई पनि सीप हस्तान्तरण गर्ने गरेको छु’ कृषक सावित्रिले भन्नुभयो ।

सावित्रिका श्रीमान भीमबहादुर भन्नुहुन्छ–‘अब वैदेशिक रोजगारीमा जाने सोच छैन, तरकारी खेतीलाई नै विस्तार गर्छु ।’ खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो हुने भएकाले अबको सिजनमा टनेल समेत थपेर च्याउ खेती र खेतबारीमा मौसमी र बेमौसमी तरकारी खेतीलाई विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।

जलजला गाउँपालिकाले कृषि र पशुपालनमा सक्रिय भएका कृषकलाई अनुदान सहित सीप हस्तान्तरणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले उत्पादनमा आधारित भएर अनुदान तथा तरकारी खेतीमा लागेकालाई विभिन्न सहयोग गर्ने गरेको समेत उहाँले जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *