सडक जोगाउन प्लास्टिकको सहारा !


अमृत बास्कुने, म्याग्दी

सामान्यतया प्लास्टिकको प्रयोग एक्कासी पर्ने पानीबाट जोगिन तथा कहि कतै घरको पालि तथा छानो चुहियो भने बैकल्पीक माध्यमको रुपमा प्रयोग गर्ने गरिन्छ । तर अहिले राष्ट्रिय रुपममै महत्वपूर्ण मानिने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजना अन्तरगतको सडकमा पहिरो र नदि कटानले सताए पछि प्लास्टिकको सहारा लिइएको छ । हाल बेनी–जोमसोम सडक खण्ड अन्तरगतको अन्नपुर्ण गाउँपालिका–३ दानाको गुइठे तथा बैसरीमा प्लास्टिकले छोपेर सडक जोगाउने प्रयास गरिएको छ ।

वर्षात्को सुरुआत सँगै पवित्र तिर्थस्थल मुक्तिनाथ दर्शन तथा चीनको स्वसासित क्षेत्र तीब्बत सँगको सिमाना कोरला नाका पुग्ने उक्त सडकको पहिरोले निकै धेरै सताउने अन्नपुर्ण गाउँपालिका–३ दानाको गुइँठेमा सडकको बेस सहितको पर्खाल उठाउने काम गर्दा वर्षाले बाधा पु¥याउने भएकाले प्लास्टिकले छोप्ने गरिएको छ । अन्नपुर्ण गाउँपालिका–३ का पर्यटन व्यवसायी एवम् बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले दिएको जानकारी अनुसार अहिले साँघुरो भएको सडकलाई अलिक फराकीलो बनाउनुका साथै पहिरोबाट जोगाउनका लागि प्लास्टिकको सहारा लिइएको छ । वर्षात्को पानीले जमिन भिजेर सडकै बगाउने जोखिमलाई न्यूनिकरणका लागि प्लास्टिक राम्रो उपाय हुन सक्ने भएकाले यस्तो गरीएको उहाँको भनाई छ ।

अन्नपुर्ण गाउँपालिका–३ दानाका वडा अध्यक्ष रमेश पुर्जाका अनुसार बेनी–जोमसोम सडक खण्डको दाना क्षेत्रको गुइठे, खामभित्ता, लाटा खोला, रुप्से र काभ्रे अति धेरै पहिरो जाने क्षेत्र हो । यी ठाउँहरुमा वर्षाको समयमा सबै भन्दा धेरै अवरुद्ध हुने गर्दछ । उल्लेखित सबै ठाउँ वर्षामा पहिरोले सताउने ठाउँ हो र यी मध्ये पनि गुइठे भीरमा अति धेरै जोखिमको क्षेत्र हो । त्यसैले गुइठेमा सडकको बेस नै बग्न सक्ने जोखिम बढेको हुनाले हालका लागि प्लास्टिक ओडाएर त्यसलाई जोगाउने प्रयास कालिगण्डकी करिडोर सडक आयोजनाले गरेको अध्यक्ष पुर्जाको भनाई छ ।

त्यस्तै रघुगंगा गाउँपालिका–३ बैशरीमा सडक भन्दा माथिबाट आउने पानीको श्रोतलाई अन्यत्रै लैजान पनि कुलो काटेर कुलोमा पनि पानी नचुहियोस भन्ने हेतुले प्लास्टिकले नै कुलो बनाइएको छ । पानीको श्रोत जथाभावी हुँदा लगातार पहिरो झरेर सडक अबरुद्ध हुने गरेकोले उक्त जोखिम कम गर्नका लागि प्लास्टिक प्रयोग गरेर कुलो काटेर पानी तर्काइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । कुलो बनाए पछि प्लास्टिकको सापो हालेर पानी चुहिन रोक्ने प्रकृया गरे पछि अहिले पहिरो झर्ने क्रम कम भएको उहाँको भनाई छ । सामान्य ढुंगाहरु अलिअलि झर्न सक्छ तर पहिला जस्तो पहिरो झरेको छैन अध्यक्ष भण्डारीले भन्नुभयो ।

सडक नियमित सञ्चालनका लागि हरेक तबरले प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका मिन बानियाँले बताउनुभयो । सडक बाढी पहिरोबाट जोगाउनका लागि र नियमित रुपमा सवारी आवागमनलाई सञ्चालनई गराई राख्नकै लागि प्रयास सँधै भै रहेको उहाँले जानकारी गराउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *