जलस्रोत समितिले भन्यो : विधान मिचेर निर्णय नगर्नु


आदर्श अनलाइन बागलुङ
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको बिबादमा जिल्ला जलस्रोत समितिले चासो दिएको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बहुमतको बलमा विधान विपरित गरेको निर्णय कार्यान्वयन नगरी लिखित जानकारी पेश गर्न जिल्ला जलस्रोत समितिले निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको समितिको बैठकले संस्थामा नयाँ कार्यसमिति आएपछि भएका निर्णयहरु बिबादित भएको भन्दै विधानले तोके बमोजिम काम गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बरालका अनुसार विधान विपरितका निर्णयहरुको कार्यान्वयन नगर्न तथा पारदर्शी ढंगले कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

संस्थाले स्वच्छ र सफा खानेपानी उपलव्ध नगराएको, नगरविकास कोषसँग लिएको ऋणको साँवा व्याज समयमा तिर्न चासो नदिएको, संस्थाको हिसाब किताब पारदर्शी नभएको, बक्यौता महशुल उठाउन समितिले चासो नदिएको जस्ता गुनासो आएपछि जिल्ला जलस्रोत समितिले संस्थाको गतिविधि प्रति चासो दिएको छ । हाल सम्म भएका निर्णयहरु विधान अनुसार भए नभएको ७ दिन भित्र लेखी पठाउन जलस्रोत समितिले निर्देशन दिएको छ ।

संस्थाको साउन ३२ गते बसेको बैठकले बिभिन्न उपसमिति गठन गर्ने, प्रबन्धकलाई बर्खास्त गर्ने, न्युनतम महशुल बढाउने पूर्व निर्णय कार्यान्वयन नगर्ने लगायतका निर्णय गरेको थियो । उक्त निर्णयहरु विधान सम्मत भए नभएको अध्ययन गरेपछि जिल्ला जलस्रोत समितिले थप काम अघि बढाउने छ ।

संस्थाका प्रबन्धकलाई हटाउने, अध्यक्ष केबी रानाको राजीनामा लगायतका कारण नगरखानेपानीको बिबाद समेत चुलिदै गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *