मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन


आदर्श अनलाइन, मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्नुभएको छ ।

मुस्ताङ जिल्लाको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालयको भवन गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख रुपियाँ लगानीमा तीनतला निर्माण भएको थियो । साढे छ रोपनी जमिनमा इप्रका भवनसहितको कार्यालय परिसर रहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन नयाँ भवन उपयोग हुने बताउनुभयो ।

मुक्तिनाथ दर्शनका लागि विश्वका धेरै मुलुकबाट पनि भक्तजनहरु आउन सक्ने भन्दै उनीहरुको सुरक्षा हाम्रो जिम्मेवारी हो र प्रहरी पनि आफू सुरक्षीत हुन पर्ने र त्यसका लागि अहिले उद्घाटन भएको भवन निकै उपयोगी सिद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले समाजमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभुति दिलाउन प्रहरीको प्रयासले मात्रै नहुने भएकोले स्थानीय नागरिकको भुमिका पनि महत्वपूर्ण हुने भएकाले सबैभको भुमिकाले मात्रै शान्तिसुरक्षा कायम हुने बताउनुभयो ।

उहाँले संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजनमा समस्या भएको र समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षा अनुसार प्रहरीलाई सहयोग गर्न नसकेको धारणा राख्नुभयो ।

मुक्तिनाथ मन्दीर तथा त्यस क्षेत्रको सुरक्षाको लागि राखिएको इलाका प्रहरी कार्यालय हाल सम्म बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको रानीपौवामा रहेको पुरानो धर्मशालाका चार कोठाबाट सञ्चालन भएको थियो । हाल नयाँ भवन निर्माण भएर अन्य कार्यहरु नयाँ भवनबाट हुने भए पनि रानीपौवा क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै हाल भै रहेको रानीपौवाको धर्मशालाकै एउटा कोठामा सानो युनिट राखिने र कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय भवनको उद्घाटन कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले गर्नुभएको थियो । कार्यक्रममा मुस्ताङका सांसद योगेश गौचन थकाली, बारगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नमगेल गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुव अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *