विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला

आदर्श अनलाइन, बागलुङ
विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उहाँले बालबालिकाको सृजनात्मक र मनोवैज्ञानिक विकासमा कार्यशालाले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणको तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा पुस्तकालय संरक्षक समितिका सदस्य प्रेम छोटा, पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, एनप्याब्सन बागलुङ नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यशालामा सामुदायिक र निजी विद्यालयका गरी ६० जना बालबालिका सहभागी रहेका छन् । कार्यशालामा बाल साहित्यकार यशु श्रेष्ठले कथा, निबन्ध, कवितालगायत विधामा सृजनात्मक लेखन र प्रयोगबारे अभ्यासमूलक प्रशिक्षण दिने पुस्तकालयले जनाएको छ ।



बालबालिकामा मोबाइलको नकारात्मक लत न्यूनीकरण गरी सकारात्मक सिकाइमा मोबाइलको सदुपयोगबारे पनि अभिमुखीकरण गरिने पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो । विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई शिक्षणमा कथावाचनको महत्व र प्रयोगका विषयमा पनि प्रशिक्षित गरिने उहाँको भनाइ छ ।

“विद्यालय उमेरका बालबालिकामा सृजनात्मक क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “कार्यशालाले लेखन सीपसँगै बालबालिकाको अभिव्यक्ति कलासमेत विकास हुने हाम्रो विश्वास छ ।” १७औँ राष्ट्रिय पुस्तकाल दिवसको अवसरमा प्याब्सन, एनप्याब्स, विद्यामन्दिर माध्यमिक विद्यालय र बागलुङ जेसीजसँगको सहकार्यमा पुस्तकालयले कार्यशाला आयोजना गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित यही भदौ १५ गते मनाइने उक्त दिवसलाई पाँच दिवसीय कार्यक्रमसहित मनाउन लागिएको पुस्तकालयका सचिव शर्माले बताउनुभयो । दिवसका अवसरमा मङ्गलबार पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिएको थियो ।

शुक्रबार पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको पुस्तकालयले जनाएको छ । सोही दिन पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने भएको छ ।



दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा प्रयोग हुने गरी पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको छ । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको सचिव शर्माले जानकारी दिनुभयो । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही झण्डै ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग पहिचान छ ।

धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधा र भाषाका गरी करिब १७ हजार बढी पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।

प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । कार्यशालाको उद्घाटन सत्र पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *