बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सम्मान र दीप प्रज्वलन


आदर्श अनलाइन, बागलुङ
द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल बागलुङले बेपत्ता परिएकाको सम्झनामा सम्मान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

बलपूर्वक वेपत्ता पारिएका पीडितहरुको १४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्जालले वेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका अध्यक्ष अध्यक्ष जसोधा शर्मा, देविसरा सिउठाने, कुमारी घमाल, मैना सुनार र विमल केसीलाई सम्मान गरिएको द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल बागलुङका संयोजक पवित्रा खड्काले बताउनु भयो ।

सो अवसरमा बोल्दै एडभोकेसी फोरमका संयोजक तथा अधिवक्ता राम शर्मा सत्य निरुपण आयोग तथा मेलमिलाप आयोग संसोधन सहित राष्ट्रिय सभा र प्रतिनिधी सभाबाट पारित हुँदा पनि पीडितहरुले न्यायको प्रत्याभूति प्राप्त गर्न नसक्नु दुखद् भएको बताउनु भएको थियो । उहाँले लामो समयपछि विधेयक पारित हुनु राम्रो पक्ष भएको भएपनि मानवअधिकारको गम्भिर उल्लङ्घन गर्ने राज्य वा गैरराज्य जुन पक्षका व्यक्ति भएपनि सजायको भागिदार हुनुपर्छ भन्ने मर्म भन्दा बाहिर गएर पीडकले उन्मुक्ती पाउने अवस्था बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वेपत्ता पारिएका परिवारको तर्फबाट विमल केसीले बोल्नु भएको थियो । कार्यक्रममा पीडितहरुले आफ्नो आफ्न्तको सम्झनामा दिप प्रज्वलन गरेका थिए । कार्यक्रम द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका अध्यक्ष अध्यक्ष जसोधा शर्माको अध्यक्षता र द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल बागलुङका संयोजक पवित्रा खड्काको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *