कृष्णगंगा सहकारीको सोह्रौ साधारण सभा

आदर्श अनलाइन, बागलुङ
जलजला गाउँपालिका वडा नं. ७ मिलनचोक पर्वतमा सञ्चालित कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भयो ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले पूँजी परिचालनका क्षेत्रमा सहकारीले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । सहकारी क्षेत्रमा समस्या देखिएपछि समग्र वित्तीय परिचालनमै असर गरेको भन्दै उहाँले सहकारीका समस्या समाधानका लागि सबै सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय सहकारीको नाममा निजी व्यवसाय सञ्चालन गरेका केही सहकारीमा आएको समस्याका कारण सिंगो सहकारी क्षेत्रप्रतिनै अविश्वास बढ्दै गएको उहाँको भनाइ थियो । सहकारीका साधारणसभामार्फत सहकारीहरुले सदस्यलाई संस्थाको वित्तीय लगायत समग्र अवस्था र सहकारीमा समस्या पर्नुका कारणहरुको बारेमा छलफल गर्न सुझाव दिनुभयो ।

कतिपय सहकारीमा सञ्चालकहरुको बद्मासी, सदस्यहरुको मुनाफा र ब्याजको लालच तथा राज्यको नियमनमा उदासिनताका कारण सहकारी क्षेत्रमा समस्या आएको चर्चा गर्दै उहाँले समुदाय केन्द्रीत सहकारीहरुमा समस्या नभएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार मुकुन्द प्रसाद आचार्य, पूर्व उपाध्यक्ष डिल्लीराज पौडेल, शेयर सदस्य जमुना आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, उपाध्यक्ष रुद्रलाल उपाध्यायको स्वागत र सचिव भोजराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, सचिव आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बम बहादुर बरुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थामा हाल १ हजार ५ जना शेयर सदस्य, ३ करोड ३८ लाख शेयर रकम, १४ करोड ७८ लाख बचत, १६ करोड ५९ लाख ऋण लगानी रहेको प्रवन्धक ओम प्रसाद शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *