मनसुन कप फुटबल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । ९ ए साइड सिस्टममा सञ्चालन हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका टिमहरुले सहभागिता जनाएका छन् ।

नारीहरुको महान चाड तिजको अवसर पारेर आयोजना गरिएको फुटबल प्रतियोेगितामा विभिन्न २१ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । भदौ १९ देखि २२ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद ८० हजार रुपियाँ, दोश्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अनुशासित टिमलाई नगद आठ हजार रुपियाँ, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद चार हजार रुपियाँ, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र राइजीङ प्लेयरले नगद तीन हजार सहित ट्रफि प्राप्त गर्ने अध्यक्ष बानियाँको भनाई छ । त्यस्तै प्रतियोगिताकै अवसरमा स्लो डान्स, ग्रुप डान्स, घैटो फुटाइ र तीज गित प्रतियोगिता समेत गरीने आयोजकले जनाएको छ ।

बुधबार भएको उद्घाटन खेलमा वान्टेड कालिपुलले एभरग्रिन क्लब बेनीलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहिबार बिहान एभरग्रिन सेतो र अर्थुङ्गे निलो बिच खेल हुने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले चुत्रेनीमा रहेको खेल मैदानलाई व्यवस्थीत र स्तरीय बनाउनका लागि डिपिआर तयार गरेर अगाडी बढ्न लागिएको बताउनुभयो । उहाँले युवाहरुले गरेको प्रयास निकै राम्रो रहेको र अब खेलमैदान व्यवस्थीत गर्ने जिम्मेवारी स्थानिय सरकारको हुने बताउनुभयो । स्तरीय खेलमैदान बनाउन सकेको खण्डमा खेलाडी पनि स्तरीय निस्कने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले खेल फुटबलको नियम र परिधि भित्र रहेर व्यवस्थीत तबरले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा अहिले एन्फाबाट आवश्यक प्रशिक्षण लिएका स्थानीय स्तरकै रेफ्रीहरु खेल सञ्चालन गर्न सक्ने सक्षमता भएको तयार भएकाले पनि जिल्ला फुटबल संघले जिल्ला भित्र हुने हरेक प्रकारका फुटबलका लागि अफिसियल उपलब्ध गराउन सक्षम रहेको बताउनु भएको थियो ।

क्लब अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा विशाल बानियाँले स्वागत गर्नुभएको थियो भने राजेश कटुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *