मजदुर महिलाको स्वास्थ्य सचेतना सहित तीज मनाइयो

आदर्श अनलाइन, म्याग्दी
महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । मजदुर महिलाहरुको स्वास्थ्य सचेतना बढाउने उद्देश्य सहित म्याग्दीको सदरमुकाम बेनीमा प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम गरिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दी, क्युपेक नेपाल जिल्ला महिला कमिटी र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा मजदुर महिलाहरुलाई प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाबारे जानकारी गराउनुका साथै उनीहरुको स्वास्थ्यलाई मुख्य केन्द्रमा राखेर हरप्रकारको कार्य गरिनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अञ्जु थापाले महिला दिदीबहिनीहरुले आफ्नो पाठेघर स्वस्थ राख्नको लागि प्रशस्तै मात्रामा पानी पिउनुपर्ने बताउनुभयो । उहाँले पानी मात्रै धेरै पिउनेभन्दा पनि यसको अतिरिक्त झोलिलो पदार्थहरु दाल, तरकारी, गेडागुडीको रस, फलफुललगायत नियमित रुपमा सेवन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको स्वास्थ्यलाई स्वस्थ राख्न नियमित रुपमा सरसफाइ गर्नुपर्ने बताउनुभयो ।

बेनी अस्पतालको स्त्री तथा प्रसुति रोग विशेषज्ञ समेत रहनुभएकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर थापाले काम गरिसकेपछि शरिरको बाहिर तथा भित्र लगाउने सबैखाले कपडाहरु परिवर्तन गरिराख्नुपर्ने बताउँदै वर्षमा कम्तीमा पनि एकपटक पूर्णरुपमा स्वास्थ्य चेकजाँच गर्न महिलाहरुलाई सुझाव दिनुभएको छ । उहाँले सरसफाइ गर्दा तथा हात धुँदा नरम खालको साबुनहरुको प्रयोग गर्न पनि सल्लाह दिनुभयो ।

विशेष गरी व्यक्तिगत सरसफाइमा नियमित ध्यान दिनुपर्ने डा. थापाको भनाइ छ । उहाँले महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड एउटै मात्र प्रयोग गर्न नहुने तथा त्यसलाई राम्रोसँग धोएर तथा परिवर्तन गरेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । डा. थापाले जुनुसकै स्वास्थ्य समस्या बारम्बार दोहोरिरहेको अवस्थामा तुरुन्तै अस्पताल गएर स्वास्थ्य चेकजाँच गराउन सुझाव दिनुभएको थियो ।

सोही कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले मृगौलाले शरिरमा रहेको पिसाबलगायत बिकारजन्य वस्तुलाई बाहिर निकाल्ने र रक्तचाप नियन्त्रणमा पनि मृगौलाको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले मृगौलालाई स्वस्थ राख्न समयमा सुत्ने, प्रशस्तै झोलिलो पदार्थ पिउन, सन्तुलित खानपान, नुन तथा चिल्लोको प्रयोग कम गर्ने र नियमित व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका मनोविमर्शकर्ता लक्ष्मी विकले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले कार्यक्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले समय समयमा अस्पताल गएर स्वास्थ्य चेकजाँच गर्नुपर्ने बताउँदै मृगौला स्वस्थ राख्न नियमित व्यायाम र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले तिज पर्वको अवसरमा महिलाहरुलाई स्वास्थ्य सचेतनाको लागि लक्षित गरेर कार्यक्रम गरिएको हुँदा आउँदा दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन क्युपेक नेपाल जिल्ला महिला कमिटीका सचिव पुजा छन्त्यालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *