जेसीज सप्ताहको उद्घाटन सहित युवा सम्मान कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले यसबर्षको जेसीज सप्ताह शुरु गरेको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि जेसीज सप्ताहको शुरु गरेको हो । सप्ताहको पहिलो दिन उद्घाटनसंगै युवा सम्मान कार्यक्रम गरिएको छ । भदौ २१ गतेसम्म संचालन हुने सप्ताहको उद्घाटन बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो ।

सो अवसरमा स्वदेश मै केहि गर्ने सोचका साथ आफ्नो व्यवसाय र उद्यम संचालन गर्नु भएको बानपा ७ निवासी ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फमका संचालक ओमराज शर्मा र बानपा ३ मा मिलन ट्याटु हासउ संचालन गर्नु भएका मिलन खत्रीलाई युवा सम्मानको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा बागलुङ जेसीजको प्रतिनिधीत्व गर्दै पोखरा जेसीजले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा प्रदेशमै उत्कृष्ट हुन सफल निरुता शर्मालाई पनि सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । सम्मानित व्यक्तिको परिचयन उपाध्यक्ष रोहन जिसी र प्रतिभा केसीले गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले सिर्जनशिल हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले युवाहरुले परिवर्तनको सोच राखेर अगाडि बढ्न सकेमा मात्र समाज र देशको बिकास सम्भव हुने बताउनुभयो । कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना र सम्मानित व्यक्तिको तर्फबाट ओमराज शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको दोस्रो दिन २६ गते मंगलवार शेयर सम्वन्धी तालिम रहेको मुल संयोजक कँडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *