बागलुङ पशु फार्म तथा दुग्ध सहकारीको अध्यक्षमा थापा

आदर्श अनलाइन बागलुङ
बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, काठेखोला गाउँपालिका वडा नं. २, डुडियाको अध्यक्षमा प्रतिमान थापा चयन हुनु भएको छ ।

शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र शिवलाल कंडेल संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा जगन्नाथ कंडेल, सचिवमा डिलाराम आचार्य, सह–सचिवमा राज कुमार पौडेल, कोषाध्यक्षमा लक्ष्मीराज गौतम तथा सदस्यहरुमा धरणीधर सापकोटा, योगेन्द्र शर्मा, भवानी प्रसाद कंडेल र कान्तालाल जैसी रहनु भएको छ । यस्तै लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा टंक प्रसाद कंडेल र पशुपति कंडेल चयन हुनु भएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले उत्पादनको क्षेत्रमा १२ वर्षदेखि निरन्तर काम गर्दै आएको सहकारीलाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्य, सरकार र स्थानीय समुदायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उत्पादनको क्षेत्रबाट टाढिदै गएको जनशक्तिलाई यो क्षेत्रमा आकर्षित गर्नका लागि सहकारी तथा व्यक्तिले सञ्चालन गरेका फार्महरुलाई जोगाउन राज्यको सहयोग आवश्यक रहेको भन्दै उहाँले उत्पादनका क्षेत्रमा देखिएको समस्या समाधानका लागि साथ दिन स्थानीय सरकारलाई आग्रह गर्नु भयो ।

काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विद्यापति शर्माले सहकारीका सदस्यहरुले स्वतस्फूर्त रुपमा लगानी गरेर दुध उत्पादन गरी बजार पठाउने काम गरेकोमा आभार व्यक्त गर्दै सबैको सहयोग र समन्वय हुन सकेमा थप व्यवस्थित गराउन सकिने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष बालानन्द कंडेलको स्वागत र सचिव लाल बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा सचिव क्षेत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राम बहादुर हमालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक शिवलाल कंडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

६९ जना सदस्यहरुले ३ करोड ५६ लाख ५० हजार शेयर लगानी गरी काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको डुडियामा सञ्चालनमा आएको गाई फार्ममा हाल ७९ वटा गाई रहेका छन् । संस्थाले गत आर्थिक वर्षमा ७४ लाख ९४ हजार ७ सय ८ रुपैया बराबरको दुध विक्री गरेको छ ।

संस्थाले उत्पादन गरेको दुध बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत बागलुङ बजारमा विक्री वितरण हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *