पठन संस्कृति बढाउन बाल पुस्तकालय अभियान शुरु


आदर्श अनलाइन, बागलुङ
धौलागिरीको जेठो पुस्तकालय विद्यामिन्दर पुस्तकालयले बाल पुस्तकालय निर्माणका लागि आर्थिक अभियान थालिएको छ ।

शनिबार विद्यामन्दिर पुस्तकालयले एक साथ बाल पुस्तकालय अभियान, पुस्तकालयको लोगो सार्वजनिक समेत गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगरलाई आवश्यक पर्ने बाल पुस्तकालय निर्माणमा नगरपालिकाले सहयोग पु¥याउने बताउनुभयो । उहाँले राणकालमा पुस्तकालयको आवश्यकता ठान्ने अग्रजको दुरदृष्टिलाई सम्मान गर्दै विद्यामन्दिर पुस्तकालयको समयअनुकुल विकासका लागि आफू प्रतिबद्धता रहेको बताउनुभयो ।



श्रेष्ठले पुस्तकालयलाई पठनयोग्य बनाउन, बालबालिकालाई मोवाईलको लतबाट टाढा राख्न बाल पुस्तकालयले सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले अध्ययन गर्ने संस्कृतिलाई बढाउन पुस्तकालयको ठूलो योगदान रहेको बताउनुभयो ।
यस्तै प्रहरी उपरिक्षक ऋषिराम कँडेलले मोवाईलबाट विद्यार्थीलाई टाढा राख्नका लागि पुस्तकालयप्रतिको रुची बढाउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा स–साना बालबालिकादेखि किशोरकिशोरीसम्मलाई लक्षित गरी उनीहरूको रुचि र आवश्यकता अनुसार सेवा र सुविधा दिने उद्देश्यले बाल पुस्तकालय निर्माण गर्न लागिएको विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभएको थियो ।



पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले रु.पच्चीस हजारको चेक दिएर सहयोग अभियानको शुभारम्भ गर्नु भएको थियो । उहाँले पुस्तकालयलाई समय सापेक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बाल पुस्तकालयले बालबालिकालाई पुस्तकको सानिध्यमा पु¥याउन उनीहरुको प्रश्न, परिकल्पना, सृजना, रचना, जिज्ञासालाई आकार दिनुका साथै विश्व दृष्टिकोण निर्माणमा सहयोग गर्नुको साथै कुनैपनि समस्यालाई कसरी समाधान गर्ने र नयाँ आविष्कार गर्न गहिरो अध्ययन अनुसन्धानमा मद्धत गर्ने पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।



बालबालिकाका तर्फबाट बोल्दै संस्कार प्रधानले बाल पुस्तकालयले बालबालिकाको ज्ञानको दायरा बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सीमित पार्न नहुने भन्दै अतिरिक्त ज्ञान र चिन्तनको मार्गमा उनीहरुलाई अग्रसर गराउनुपर्ने बताउनुभयो ।

बाल पुस्तकालयमा ज्ञानसामग्रीहरू, खेलौनाहरू, सूचना प्रविधिका सेवा र सुविधाहरू उपलब्ध गराउने र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक, बौद्धिक जागरणको विचार विमर्श सञ्चालन गर्न र स्थानीय संस्कार, कला र संस्कृतिका कार्यक्रमहरू उनीहरुलाई सामेल गराउने र उनीहरूको सुन्दर भविष्य निर्माण गर्न बाल पुस्तकालयले साथ दिने पुस्तकालयले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठ र कार्यवाहक प्रधान संरक्षक राजभण्डारीले पुस्तकालयको ‘ब्राण्डिङ लोगो’ सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा बाल पुस्तकालय निर्माणको लागि सहयोग गर्नु हुने चन्दादाता र कोष निर्माताहरुको नाम र रकम घोषणा गरिएको थियो । कार्यक्रममा चार वटा अक्षयकोष घोषणा गरिएको थियो ।

अक्षयकोषसहित बाल पुस्तकालयका लागि अहिलेसम्म झण्डै रु. पाँच लाख संकलन भएको पुस्तकालयले जनाएको छ । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *