आदर्श अनलाइन, बागलुङ
बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेश गरेर बयान लिइएको छ ।
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौंबाट आइतबार बागलुङ ल्याएको थियो । सहकारी ठगी मुद्दामा नेपालीको बयान सकिएको जिल्ला अदालत बागलुङको भनाई छ । अदालतका स्रेस्तेदार शिवहरि सुवेदीलेले नेपालीको बयान सकिएको र मंगलबार थुनछेक बहस हुने बताइएको छ ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार राति बागलुङ ल्याएको थियो ।
नेपालीलाई साधारण तारेखमा राख्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने मुद्दाको पुर्पक्षको सम्बन्धमा दुवै पक्षको बहस भोलि हुने र न्यायाधीसले बहसपछि थुनछेकको आदेश दिनुहुने स्रेस्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासमा मंगलबार थुनछेक बहस हुनेछ । यदि अदालतले मागे जति बिगो तिर्न नसके नेपाली थुनामा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । यससँगै यो मुद्दाको टुंगो नलागेसम्म नेपाली कारागारमा बस्नुपर्नेछ । नेपालीलाई आइतबारदेखि जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा राखिएको छ ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको रु. दुई अर्बबचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए ।