आदर्श अनलाइन, बागलुङ
म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समितिको अग्रसरतामा सुरु गरिएको कोशेली घरले आन्तरीक तथा बाह्य यात्रुहरुका लागि सहजता बनाएको छ ।
बेनी नगरपालिका–८, कालीपुल बसपार्कमा रहेको पर्यटन सूचना केन्द्र संगै सञ्चालन गरिएको कोशेली घरमा पाइने स्थानीय उत्पादन तथा आर्गनिक खाद्यान्न तथा हस्तकलाका सामग्री कोशेलीका रुपमा लैजान चाहने यात्रुका लागि निकै महत्वपूर्ण सावित हुदै आएको छ । बसपार्कमै रहेको कोशेली घर भएकाले पनि गाडी चड्नु भन्दा पहिला त्यहाँबाट हस्तकलाका सामानहरु बाँसको चोयाबाट बनेको डालीहरु, मुडा, हातले बुनेका टोपी, रुमाल, राडी, पाखीका साथै अल्लोका कपडा तथा डाकाका चोलो तथा साडीहरु पनि किन्न पाइन्छ ।
कोशेली घरमा स्थानीय सामग्रीहरु मकै, भटमास, भाँगो, टिमुर, सिस्नोको धुलो लगायतका खाद्यान्न सामग्री पनि सुपथ मुल्यमा पाउन सकिने महिला उद्यम विकास समितिकी सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । सामग्री किन्न चाहनेहरुका लागि बसपार्कमै भएकोले निकै सजिलो भएको छ र अझै थप प्रचार पनि आवश्यक देखिएको उहाँको भनाई छ । हामीले सामान विक्री केन्द्र राखेको हो र त्यहाँ बिक्रीका लागि चाहिने सामान हामीलाई पनि चाहिन्छ र त्यसका लागि ग्रामिण भेकमा उत्पादन भएका सामग्रीहरु त्यहाँ ल्याएको खण्डमा हामीले खरिद गरेर नै बिक्री गर्ने हो –उहाँले जानकारी दिनुभयो ।
सिस्नोको धुलो, घरमा बनाएका अचारका परिकार तथा टिमुर तथा अन्य दाल, कोदो, लोकल आइटमहरु नै हामीहरुले मुख्यरुपमा विक्री गर्ने गरेका छौं–कोशेली घरकी सञ्चालक दिलमायाँ घतानेले भन्नुभयो । उहाँले कोशेली घरबाटै स्थानीय उत्पादन तथा हस्तकला सामग्री बिक्री गर्नुका साथै बजारिकरण समेत गर्ने गर्नुभएको छ ।
सामाजिक सञ्जालको प्रयोगबाट स्थानीय उत्पादनको बजारीकरण
सामाजिक सञ्जालको लतले गर्दा कयौंका घरबार बिग्रने र कतिपय ठगीको सिकार बन्ने गरेको भए पनि म्याग्दीकी एक जना उद्यमीले भने सामाजिक सञ्जालको माध्यमबाटै आफ्नो व्यवसायलाई अगाडी बढाइ रहनुभएको छ । सामाजिक सञ्जाल टिकटकमा लाइभ बस्ने तथा त्यहीबाट आफ्नो जानकारी दिने र त्यसैको माध्यमबाट ढाकाको कपडाहरु विक्री गर्ने गर्नुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा रहेको कोसेली घरकी संचालिका दिलमायाँ घतानेले टिकटकको माध्यमबाट ग्राहकहरु खोज्दै त्यसैबाट मासिक रुपमा एकलाख ५० हजार रुपियाँ हाराहारीको व्यापार गर्ने गर्नुभएको छ ।
उहाँले कालीपुल बसपार्कमा रहेको कोसेलीघरमा बिहान ७ देखि बेलुका ७ बजे सम्म बस्ने र कोठामा फर्केपछि झण्डै तीन घण्टा दैनिक टिकटक लाइभमा बिताउने गरेको बताउनुहुन्छ । उद्यमी घतानेले ढाकाबाट तयार पारेको सामग्री सहित अन्य हस्तकला र अर्गानिक सामानहरु नेपालमा मात्रै नभएर विदेशमा समेत पठाउने गरेको सुनाउनुहुन्छ । सबै समय होइन निश्चित समय बिहान–बेलुका टिकटकमा लाइभ बस्ने गरेको उहाँको भनाई छ । सामानको बारेमा टिकटकमा जानकारी छाडेपछि आवश्यक पर्नेले इन्वक्समा म्यासेज पठाउने गरेपछि बाँकी कुराकानी हुने र सामग्री पठाउने उहाँको भनाई छ ।
युवाहरुले टिकटक लाइभ आएर गिफ्ट माग्ने र कयौंलाई गिफ्टा लोभमा बेघर बनाउने गरेका उदाहरणहरु धेरै सुनिने गरेको भए पनि उद्यमी घतानेले म्याग्दीमा उत्पादन हुने अल्लो र ढाकाबाट तयार पारेको साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, कोट, टोपी झोलालगायत सामग्रीहरु बिक्रीको माध्यम बनाउने गर्नुभएको छ । उहाँले लाइभमै सोध्नेहरुलाई सामग्रीहरु देखाइदिने र पछि उनीहरुको चासो अनुसार म्यासेजमा कुरा गरेर मुल्य तथा अन्य कुराहरु हुने बताउनुहुन्छ ।
व्यवसायको बारेमा बुझ्दा घताने भन्नुहुन्छ–‘नियमित यतै नै भन्ने छैन तर मैले टिकटकबाट महिनामा करिब डेढलाख रुपियाँ सम्मको साम्रागी बिक्री गर्छ ।’ नेपाल भन्दा पनि धेरै विदेशबाट सामान मगाउनु हुन्छ–उद्यमी घतानेले भन्नुभयो । टिकटक, फेसबुक, लगायत सामाजिक सञ्जालमा समेत उद्यमी घतानेको कोशेली घरमा पाइने सबै साम्रागीहरुको बारेमा जानकारी छन् । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताले त्यहीबाट अर्डर लिनेको संख्या बढ्न थालेपछि अहिले पसलमै बसेर दिउँसोको समयमा पनि सामाजिक सञ्जालमा पनि नजर पु¥याउने गरेको उद्यमी घतानेको भनाई छ ।
विक्रीको रेसीयो बारे उहाँ भन्नुहुन्छ–‘मैले कुनै समय ढाकाको साडी मात्रै डेढ लाखको बिक्री गरेको छु ।’ सामाजिक सञ्जालहरु मध्ये टिकटक लाइभमा म्याग्दीको आर्गनिक टिमुरलाई निकै माग हुने उहाँको भनाई छ ।
‘टिकटकमा आफ्नो उत्पादनकै कुरा धेरै गर्ने गरेको छु, यसबाटै ब्यापार राम्रै चलेको छ । नेपाल सरकारले टिकटक प्रतिबन्ध लगाउदाको समय व्यापार कम भयो तर अहिले टिकटक खुले पछि भने मेरो ब्यापार पनि बढेको छ–उहाँले सुनाउनुभयो । ढाका कपडाको बिक्री बाह्रैमास हुन्छ तर चाडपर्व पर्ने भएकाले असोज र कात्तिक महिनामा यसको व्यापार अझ धेरै हुन्छ ।
विश्वका धेरै देशबाट माग आउने गरेको सुनाउने घतानेले बेलायत, अष्टे«लिया, जापान, हङकङ, दक्षिण कोरिया, अमेरिकालगायतका मुलुकहरुमा पनि सामग्री पठाएको अनुभव सुनाउनुभयो । विदेशमा बिक्री हुने सामानको मुल्य पनि धेरै हुने भएकाले अग्रीम भुक्तानी गरेपछि मात्रै सामान पठाउने उहाँको भनाई छ ।
म्याग्दीकी ढाका बुनाइकी पुरानो प्रशिक्षक समेत रहनुभएकी घतानेले पछिल्लो समय ग्राहकको माग अनुसार रङ्गीन र बुट्टेदार कपडा पर्न थालेपछि आफ्नो उत्पादन अपुग भएपछि अन्य उद्यमीबाट समेत लिएर ग्राहकको माग पुरा गर्ने गर्नुभएको छ ।
लघुउद्यमी संघकी केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकी घतानेका अनुसार म्याग्दीका व्यवसायीहरुले वार्षिक रुपमा अल्लो र ढाकाका कपडाहरु एक करोड भन्दा बढी मुल्यको उत्पादन गर्ने बताउनुभयो । आफ्नो हातको सीपले तयार हुने सामग्री भएकोले केही समय लाग्ने र दुःख धेरै हुने भए पनि सामग्रीको माग भने उच्च हुने उहाँको भनाई छ । एउटा ढाकाको साढी तयार गर्न कम्तीमा १० दिन लाग्ने उहाँको भनाई छ ।