आदर्श अनलाइन, म्याग्दी
जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन गर्न पाँच वर्षका लागि मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको फुटबल प्रतियोगितालाई थप व्यवस्थित तबरले निरन्तरता दिनका लागि सम्झौता गरिएको पत्रकार सम्मेलन गरी म्याग्दी जेसीजले जानकारी गराएको छ ।
म्याग्दीको बेनीमा शाखा कार्यालय रहेको एभरेष्ट ग्लोबल एजुकेसन÷भीज सँग जेसीजले सम्झौता गरेको हो । म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र एभरेष्ट ग्लोबल एजुकेसन÷भीजा सर्भिस बेनी शाखाका प्रवन्धक जगन्नाथ गैरेले आगामी पाँच वर्षका लागि टाइटल स्पोन्सर(मुख्य प्रायोजक)का लागि सम्झौता गर्नुभएको हो । सम्झौता पछि एभरेष्ट ग्लोबलले हरेक यसै वर्षदेखि हरेक वर्ष अन्तर माध्यमिक विद्यालय(कक्षा१–१०)जेसीजकप फुटबल एक लाख रुपियाँमा नघट्ने गरी म्याग्दी जेसीजलाई रकम प्रदान गर्ने भएको छ ।
म्याग्दी जेसीजले सन २००० देखि अन्तर माध्यमिक जिल्ला स्तरीय जेसीजकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको सन–२०२४ को संस्करण यही आउँदो मंसिर १७–२२ गते सम्म बेनीमा सञ्चालन हुने म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँले शनिबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराउनु भएको छ । प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरु बीचमा ९ ए साइड फुटबल प्रतियोगिता हुने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि विद्यालयहरुलाई पत्राचार गरी सकिएको र तयारी अगाडी बढी सकेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ५२ हजार दुई सय २२ सहित जेसीजकप रनिङ ट्रफिका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीजकप फुटबलका संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो । त्यस्तै दोश्रो स्थान हासिल गर्ने टिमले नगद ३२ हजार दुई सय ३२ ट्रफिका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम र अनुशासित टिमले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही दुई हजार पाँच सय रुपियाँ र ट्रफि प्रदान गरिने संयोजक घिमिरेले बताउनुभयो ।
प्रतियोगितामा कुल सात लाख ८० हजार आम्दानी र सात लाख ५७ हजार दुई सय ३१ रुपियाँ खर्च हुने अनुमान गरिएको म्याग्दी जेसीजले जनाएको छ ।