आदर्श अनलाइन, बागलुङ
सात सय बगाले थापा समाज गलकोट नगरपालिका–७ मल्मले ताराखोला गाउँपालिका–४ नागबेली खोला निवासी स्वर्गिय नर बहादुर थापाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
सातसय बगाले थापा समाजका बन्धु स्वर्गिय नर बहादुर थापाको ११ औं दिनको पुण्य तिथीको अवसरमा उहाँकै निवासमा बगाले थापा बन्धुहरु मार्फत देश विदेशबाट संकलित रकम नगद रु १ लाख ५ हजार २ सय ५५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
उक्त रकम समाजका संरक्षक सुवेदार टिका बहादुर थापा, अध्यक्ष छुम बहादुर थापा र निवर्तमान अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा मृतकका दाजु सिम बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सातसय बगाले थापा समाजका संरक्षक सुवेदार टिका बहादुर थापाले बन्धुहरुलाई समस्या पर्दा बन्धु एकता, सामाजिक सदभाव सहितको उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भएको छ । उहाँले आर्थिक अवस्था कमजोर रहेका थापा परिवारलाई देश विदेशबाट आर्थिक सहयोग गर्ने थापा बन्धुहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा घरपरिवारको तर्फबाट ज्येष्ठ सदस्य सिमबहादुर थापाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सातसय बगाले थापा समाजका संरक्षक, संस्थापक, केन्द्रिय सदस्य, कार्यसमितिका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो ।
स्वर्गिय थापाको ५७ वर्षको उमेरमा पोखरामा उपचारको क्रममा निधन भएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रम सातसय बगाले थापा समाजका महासचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।