आदर्श अनलाइन, बागलुङ
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङको आयोजनामा एकसाथ पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शशनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएका छन् ।
र्काक्रममा ‘फरेना’ उपन्यासका लेखक, दाङका साहित्यकार तथा संगीतकार सन्तोष श्रेष्ठलाई सत्रौं ‘काजी रोशन साहित्य पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । श्रेष्ठ २५ हजार नगद सहित पुरस्कृत हुनु भएको हो । दर्जनौ गीतमा संगीत भरेका श्रेष्ठले थारु समुदाय र कमलरी प्रथा सम्बन्धी उपन्यास लेख्नु भएको थियो ।
कार्यक्रममा बम सरस्वती साहित्य पुरस्कार काठमाण्डौका गोबिन्दप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । निजामती सेवाबाट निवृत्त भएका घिमिरेले ५० भन्दा बढी कृति प्रकाशित गरिसक्नु भएको छ । १५ हजार नगद सहित घिमिरेलाई पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानबाटै प्रदान गरिने हिम मन्दरा साहित्य पुरस्कार पाल्पाका साहित्यकार हरिराज शर्मा हरिषलाई प्रदान गरिएको छ । उक्त पुरस्करा पनि १५ हजार राशीके रहेको प्रतिष्ठानका सचिव राम थापा अविरलले बताउनु भयो ।
सो अवसरमा धनकुटाबाट गर्गाचार्य प्रतिष्ठानले प्रदान गर्दै आएको मधुश्री साहित्य पुरस्कार धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनलाई प्रदान गरिएको छ । १५ हजार र प्रमाणपत्र रहेको उक्त पुरस्कार प्रमुख अतिथिको बिराटनगरकी साहित्यकार तथा कलाकार गंगा सुवेदीले पुरस्कारहरु प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी ‘प्रयास’ द्वारा लिखित ‘प्रयासका कविता’ कृति बिमोचन समेत गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा प्रयासका ६२ वटा कविता तथा गजल संग्रह गरिएको छ । साहित्य क्षेत्रमा क्रियाशिल सुवेदी यस अघि पनि बागलुङमा कार्यरत थिए । उनले प्रकृति, राजनीति, समाज लगायतका बिषयमा रचना गरेका सामाग्री कृतिमा संग्रह गरिएको छ ।
सोही समयमा बुटवलका बिष्णुप्रसाद सुवेदीले तयार पारेका एकसयबढी चित्रकलाको प्रर्दशनी समेत आयोजना गरियो । उक्त अबसरमा सुवेदीले प्रकृति र ल्याण्डस्केप बारे चित्र कोर्ने सौखबाट यो अबसर आएको बताउनु भएको थियो ।
धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापाको संचालन र उपाध्यक्ष धनराज सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा साहित्यकार गंगा सुवेदी, पुरस्कृत व्यक्तीहरु सन्तोष श्रेष्ठ र गोबिन्द घिमिरे, प्रजिअ नेत्र सुवेदी, साहित्यकार प्रेम छोटा र सीता श्रेष्ठले बोल्नु भएको थियो । कार्यक्रममा प्रयासका कवितामा सहप्राध्यापक हरिप्रसाद गौतम र फरेना उपन्यास बारे उपप्राध्यापक हरिप्रसाद पाण्डेयले टिप्प्णी गर्नु भएको थियो ।