आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवा सम्बन्धि अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले नागरिकको स्वास्थ्य प्रति गण्डकी प्रदेश सरकार सचेत रहेको बताउदै जैमिनीमा नगर अस्पताल भवन बनाउन आवश्यक पहल कदमी गर्ने तथा स्वास्थ्य चौकी भवन निर्माणमा समन्वय गर्ने बताउनुभएको छ ।
जैमिनी नगरपालिकाले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसद पाठकको प्रमुख आतिथ्यतामा विभिन्न राजनीति दलहरु, सामाजिक सघं सस्था, बिषयगत कार्यालय तथा जनप्रतिनिधिहरु समेतको सर्वपक्षीय बैठक राखेर जैमिनीको स्वास्थक्षेत्र र पुर्वाधार विकास लगाएत बिषयमा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिर्या कार्यक्रममा सरोकारवाला निकायले राखेको स्वास्थ्य सेवा प्रवाहमा आएको समस्या, जैमिनी नगरपालिकाको समग्र अवस्था, नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका विषयमा मन्त्री पाठकले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवालाहरुले स्वास्थ्य बीमाको औषधी नपाएको, नगर अस्पतालको भवन निर्माणमा ढिलाई भएको, प्रशासकीय भवन निर्माणमा भएको ढिलाई, स्वास्थ्य चौकी भवनमा आएको समस्या लगायतका विषयका समस्या मन्त्रीलाई सुनाएका थिए ।
मन्त्री पाठकले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रदेश सरकारले एक सय नीति ल्याएर अघि बढेको बताउदै अधिकांश समस्या समाधान हुने बताउनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेलले नगरपालिकाको समग्र विद्यमान अवस्था, नगरपालिकाले ल्याएको नीति र बजेटका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख नर बहादुर पुनले नगरपालिका जन–आकाक्षा अनुसार काम गरिरहेको बताउदै सिमित स्रोत तथा साधन असिमित आकाक्षाले समस्या पारेको बताउनुभयो । नगर उपप्रमुख हरिहर शर्माले नगरपालिकामा विस्तारै विकासका कार्यहरु देखिन थालेको बताउनुभयो ।