आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले स्वास्थ्य सुधारका लागि थालिएको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाको विषयमा स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यमन्त्री पाठकले गण्डकीको स्वास्थ्य क्षेत्र सुधारमा आफूले एक सय नीति बनाएर अघि बढेको बताउदै कार्यान्वयनका लागि संघ सरकारको सहयोग समेत अवाश्यक रहेको बताउनुभयो ।
स्वास्थमन्त्रीले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती र संभावनाहरुको साथै गण्डकीले अघि सारेको स्वास्थ्य सुधारका एक सय अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाहरु समेत जानकारी गराउनु भएको छ ।
जसमध्ये दीर्घकालिन र मध्यकालिन नीतिमा संघ सरकारको सहयोग आवश्यक रहेको प्रधानमन्त्री समक्ष स्वास्थ्यमन्त्रीले जानकारी गराउनुभएको थियो ।
तत्काल गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा गर्नेपर्ने महत्वपुर्ण काम प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय संग बजेटको अभाव भएका कारण प्रदेश सरकारले मात्र गर्न नसक्ने बिषयहरु बुँदागत रुपमा प्रधानमन्त्रीज्यु संग प्रस्तुत गरिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा चासो दिनुभएको छ ।
उहाँले नीतिमा रहेर काम गर्न आग्रह गर्दै र संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिलाउनुभएको थियो । १२ बुँदामा रहेको अत्यावश्यक कार्यक्रम र नीतिका लागि संघीय सरकारसंग अपेक्षा राखिएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।
यस्ता छन् माग गरिएका १२ बुँदा
(१) गण्डकी प्रदेश भित्र किड्नी ट्रान्सप्लान्ट सहितको मुटु, मृगौला, क्यान्सर र वालरोग सम्बन्धी एकिकृत सेवा सहितको विशिष्टीकृत अस्पताल निर्माणको लागि पोखरा महानगरपालिका वडा नं. १६, कास्की स्थित जौवारी सिचाई विभागको २०० रोपनी जग्गा गण्डकी प्रदेश सरकारललाई उपलब्ध गराइदिनु हुन आवश्यक सहजिकरण गरिदिनु हुन ।
(२) अन्तरङ्ग सेवा सहित २५ शैयाको रुपमा हाल सञ्चालनमा रहेका गण्डकी आयुर्वेद अस्पताल, कास्की र धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिदिनु हुन ।
(३) गण्डकी प्रदेश सरकार माताहत रहेका ५० शैयाको जिल्ला अस्पतालहरु तथा स्थानीयतह अन्तर्गत सञ्चालनमा रहेका ५, १० र १५ शैयाका अस्पतालहरुको स्तरोन्नतीका लागि आवश्यक दरबन्दी तेरिज र औजार तथा उपकरणको व्यवस्थापनको लागि संघीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत आवश्यक रकम उपलब्ध गराइदिनु हुन ।
(४) प्रत्येक प्रदेशमा १०० शैयाको प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्ने संघ सरकारको नीति बमोजिम गण्डकी प्रदेशमा समेत उक्त अस्पताल निर्माण गर्नको लागि पोखरा महानगरपालिका वडा नं. २६, कास्की स्थित कालिका चोक नजिक रहेको २४ रोपनी जग्गा समेत प्राप्ती भैसकेको हुँदा आवश्यक भौतिक पूर्वाधार र अस्पताल भवन निर्माणका लागि बजेटको व्यवस्था गरिदिनु हुन ।
(५) संघीय सरकार मार्फत निर्माणाधिन अवस्थामा रहेको बेनी अस्पताल, म्याग्दीको भवन २०७६ सालमा सम्पन्न हुनु पर्नेमा हालसम्म पनि उक्त भवन सम्पन्न हुन नसकेकोले त्यस तर्फ संघीय सरकारको तर्फबाट आवश्यक सहजिरकण गरिदिनु हुन ।
(६) गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा अस्पताल, दमौली अस्पताल र लमजुङ अस्पताल भवन निर्माण गर्नको लागि चालु आ.व. २०८१/०८२ मा म्एच् सम्पन्न हुने हुँदा आगामी आ.व. २०८२/०८३ मा भवन निर्माणको लागि बजेटको व्यवस्था गरिदिनु हुन ।
(७) गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालहरुका लागि तत्काललाई २ वटा MRI र ५ CT Sean वटा मेसिनहरुको व्यवस्थापन गरिदिनु हुन ।
(८) प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धती तथा मेडिकल विज्ञान (आयुर्वेद, पञ्चकर्म, योग, प्राकृतिक चिकित्सा, हेल्थ टुरीजम स्पोटर्स मेडिसिन) समेतका सेवाहरूलाई एकै ठाउँबाट प्रवाह गरिने उद्देश्यका साथ गण्डकी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न पोखरा रंगशाला परिसरमा राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं नाममा रहेको ५ रोपनी ७ आना जग्गा प्राप्तीको लागि गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट मिति २०८०/१२/२१ मा निर्णय समेत भैसकेकोले सो जग्गा प्राप्तीको लागि आवश्यक सहजीकरण गरिदिनु हुन ।
(९) नेपाल सरकार र विश्व बैंक बिच २०८०/११/०६ मा १०३.८४ मिलियन अमेरीकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्वन्धमा भएको निर्णय बमोजिम नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणली कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशले प्राप्त गर्नुपर्ने रकम प्राप्तीमा ढिलासुस्ती भएकोले सो सम्बन्धमा आवश्यक सहजीकरण गरिदिनु हुन ।
(१०) आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नागरिकहरुले निशुल्क प्राप्त गर्नु पर्ने औषधी प्राप्तीमा कठिनाई भएको साथै स्वास्थ्य संस्थाहरुले विमा वापत सरकारबाट पाउनु पर्ने भुक्तानी समयमै नपाएको गुनासाहरु नागरिक स्तरमा व्याप्त रहेकोले सो सम्बन्धमा नेपाल सरकारको तर्फबाट आवश्यक सहजिकरण गरिदिनु हुन ।
(११) नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८०/११/०६ गते भएको “स्थानीय तह मातहत रहेका आँपपिपल अस्पताल, गोरखा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङलाई ५० शैयाको अस्पतालमा स्तरोन्नती गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने । निर्णय बमोजिम आँपपिपल अस्पताल र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोन्नती गरी ५० शैयाको लागि आवश्यक पर्ने जनशक्ति सहित गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आवश्यक सहजिकरण गरिदिनु हुन ।
(१२) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा र प्राज्ञिक परिषदमा गण्डकी प्रदेश सरकारको प्रतिनिधित्व हुने व्यवस्था गरिदिनु पर्ने ।