अमृत बास्कुने, म्याग्दी
रसिलो स्याउको लागि निकै परिचित स्थान हो हिमालपारीको जिल्ला मुस्ताङ । यही मुसताङमा अहिले प्राय सबैले स्याउ टिपेर स्याउका रुखहरुमा कुनै दाना नराखी खाली बनाएका छन् ।
कतिपय स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढाटाढा सम्म हेर्दा बोटहरुमा स्याउका दाना नहुँदा उराठ जस्तै देखिन थालेकोछ । त्यही स्याउको बोट मुनि अहिले किसानहरु भने फापर भित्राउने काममा ब्यस्त छन् । स्याउका बोटबाट स्याउका दाना हटी सकेकाले अन्नबाली फापर पाकी सकेको हुनाले त्यसलाई आफ्नो घरमा भित्राउनका लागि फापर काट्नकालागि कृषकहरु व्यस्त छन् ।
हिमाली जिल्ला मुस्ताङको मार्फा लगायतका क्षेत्रको स्याउ बगान भित्र पाकेको फापर अहिले कतिपयले भित्राइ सकेका छन् भने कतिपय अहिले बारीमै काट्दै रहेको घरपझोङ गाउँपालिका मार्फाका अगुवा कृषक दिपक लालचनले बताउनुभयो । उहाँका अनुसार स्याउ टिपेर बजार पठाइसके पछि अहिलेको समय केही सहज भएको र यही समयमा फापर भित्राउनका लागि उत्कृष्ट र उत्तम समय हो ।
मुस्ताङको मुख्य अन्नबालीका रुपमा लिइने उवा र फापर हुन् र अहिले त्यही मुख्य अन्न बालीका रुपमा रहेको फापर भित्राउने समय भएकोले स्याउको काम सकिएकोले फापर भित्राउन तिर कृषकको ध्यान मोडिएको छ । स्याउ टिपेर सकिएको र बजारपनि पठाइ सकिएकोले पनि कृषकको ध्यान अन्नबाली भित्राउन तिर लागेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।
उहाँका अनुसार शीतोष्ण हावापानी भएको मुस्ताङमा अधिकांश फलफूलको बोटहरु हुने त्यही बोटको प्रयोग मात्रै नभएर यथार्थमै उत्पादन गरीएको छ मार्फालगायतको मुस्ताङ क्षेत्रमा भन्ने देखिने पनि अहिलेको फापरको उत्पादन हो । अब स्याउ टिपि सकिएको उक्त स्थानहरुमा समय सापेक्ष रुपमा स्याउ तथा अन्य फलफूलको बगान भित्र अन्तरबालीका रुपमा लसुन, प्याज, रायो मार्फा तथा बन्दा जस्ता तरकारीबाली पनि लगाउने गरिन्छ ।
नेपालको अधिकांश भागमा एउटा बाली नै एक पटकमा लगाउने गरेको भए पनि अन्तरबाली लगाउँदा राम्रो उत्पदान हुन सक्ने सम्भावनालाई पनि मुस्ताङको फलफूलको बोट मुनि प्रयोग गरेर अन्तरबाली उत्पादन प्रयोगात्मक मात्रै नभएर व्यवहारीक रुपमै राम्रो उत्पादन भएको देखाएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणकै रुपमा आफ्नो फर्ममा रहेको फलफूल बगानमा तरकारी खेती गरेरेर अन्यत्रबाट कृषकहरुलाई तालिममै बोलाएर पनि प्रयोगात्म रुपमा देखाउँदै आउने गरेको छ ।
शीतोष्ण फलफूलवालीहरु स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजीवदाम, नास्पातीको उत्पादन राम्रो हुने मुस्ताङमा अन्तरबालीका रुपमा खेती गर्दा दोहोरो फाइदा लिन सकिने भएकाले पनि त्यसको प्रयोग शीतोष्ण वागवानी विकास केन्द्रले थालेको केन्द्रका दिनेश सुवेदीले बताउनुभयो । अधिकांश क्षेत्रमा फलफूलको बगानमा अन्यबाली लगाउने गरेको पाइदैन तर यहाँ भने हामीले हरेक बाली सँगै अन्य बाली पनि लगाएर अन्तरबाली अभ्यास गरेका छौं–उहाँले भन्नुभयो ।
मुस्ताङमा फलफूलका वगैचा भित्र कोशेवालीहरुमा सिमी, केराउ, भटमास जस्ता तरकारी लगाउने गरिन्छ । त्यसैगरी आलु, प्याज, लसुन, वन्दा, काउली, व्रोकाउली, रायो साग, कुरिलो, गोलभेडा, भेन्टा जस्ता तरकारीवालीहरु अन्तरवालीको रुपमा लगाईने अनुभव छ । फापर तथा उवापनि अधिकांश क्षेत्रमा अन्तरबालीका रुपमा नै उत्पादन हुने गरेको छ ।
फलफूल कृषकहरुले अन्तरवाली लगाउँदा वालीको छनौट गर्नु महत्वपुर्ण कार्य हुने गर्दछ । सकेसम्म कोशेवालीलाई अन्तरवालीको रुपमा लगाउन सकेमा उत्पादन निकै राम्रो हुने गर्दछ । अन्तरवाली लगाउँदा मुख्य वालीसँग प्रतिस्पर्धा गर्ने खालका नलगाएर मुख्य वालीलाई पनि राम्रो फाईदा पुग्ने खालको लगाउनु पर्ने कृषकहरुको भनाइ छ । अन्तरबाली लगाउँदा जग्गाको उच्चतम उपयोग गर्न सकिने कृषक लालचनको भनाई छ ।
अन्तरवाली लगाउँदा मलखाद, सिंचाईको उच्चतम उपयोग हुने भएकाले दुवै वालीको उत्पादन उत्पादकत्व बढाउन सकिन्छ । बगैचामा प्रयोग भएको मलको धेरै उपभोग गर्ने मकै कोदो तथा लहरे बाली र गहिरो जरा जानेबाली लगाउँदा मुख्य बालीलाई नै असर गर्ने भएकोले त्यस्तो लगाउन नहुने शीतोष्ण वागवानी विकास केन्द्रका प्रमुख आत्रेयले भन्नुभयो ।