आदर्श अनलाइन, म्याग्दी
धेरैजसो पुरुषको खेलकुद गतिबिधिहरु भै रहेको अवस्थामा छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता अयोजना गरिने भएको छ । आउदो मंसिर महिनाको दोश्रो साता सदरमुकाम बेनीबजारमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।
म्याग्दीमा रहेका छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको हो ।
म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएको म्याग्दीमा फुटबल तर्फ पनि सम्भावना हुन सक्छ र त्यो सम्भावना पहिचान गर्नका लागि छात्रा फुटबल प्रतियोगिता अयोजना गरीएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामी हाल प्रसारप्रसार सहित आवश्यक तयारीमा जुटेका छौ, छात्रा फुटबलका लागि म्याग्दीमा रहेका राम्रा प्रतिभालाई यो प्रतियोगिता अवसर समेत रहेकोले हामीले हरेक बर्ष प्रतियोगिता आयोजना गर्ने गरी तयारी गरेका छौं ।’ प्रतियोगिताका लागि म्याग्दीमा रहेका विद्यालयलाई पत्रचार गरि सकिएको र अन्य प्राविधिक पाटो तर्फ ध्यान केन्द्रीत गरेर अगाडी बढेको उहाँको भनाई छ ।
प्रतियोगिता आयोजना गरिनु मात्रै नभएर म्याग्दीको विद्यालय स्तरमा रहेका छात्रा फुटबल खेलाडीको पहिचान तथा जिल्ला हुदै प्रदेश र राष्ट्रियस्तरको खेलसम्म पुग्नेगरी आवश्यक प्रशिक्षण लगायतका अवसरका लागि पनि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । छात्रा फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्नकालागि जिल्ला फुटबल संघ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच यस अघिनै सम्झौता भएको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।
लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।