अमृत बास्कुने, म्याग्दी
वैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको धेरै भयो । मुस्ताङको मुक्तिनाथमा घोडा सञ्चालन गर्न थालेपछि आफ्नो आम्दानी र सन्तुष्टि दुवै भएको उहाँको भनाई छ । मानिसहरुको आगमन धेरै हुँदा भने विदेश जाँदा गर्ने लगानी भन्दा कम लगानीमा उता भन्दा धेरै कमाइ गर्न पनि सकिने उहाँ बताउनुहुन्छ ।
पछिल्लो आठ वर्ष देखि आफ्नै घोडा सञ्चालन गर्दै आउनु भएका मुस्ताङको बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ लुप्राका ३३ वर्षिय बुद्धि बिकले आफ्नो सात जनाको परिवार यही पेसाबाटै चलाउँदै आउनु भएको छ । घरमा आफू सहितको सात जनाको परिवार धान्नका लागि घोडा सञ्चालन निकै राम्रो भएको उहाँको भनाई छ । वार्षिक रुपमा दुई पटक गरेर १४ हजार रुपैयाँ गाउँ मुखियालाई तिरेपछि घोडा चलाउन पाइने उहाँको भनाई छ । नेपाली पर्यटकलाई वसपार्क देखि मन्दिर सम्म पु¥याएको नेपाली चार सय रुपैयाँ र भारतीय तथा अन्य मुलुकका पर्यटकका लागि छ सय ४० रुपैयाँ (भारु चार सय)शुल्क गाउँ मुखियाले नै तोकेको र सोही अनुसारको शुल्क आफूले लिने गरिएको उहाँको भनाई छ ।
मुक्तीनाथ क्षेत्रका मुखिया लोप्साङ गुरुङले घोडा सञ्चालन गर्नका लागि वार्षिक रुपमा दुई पटक गरेर १४ हजार रुपैयाँ शुल्क उठाउने गरेको बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा घोडा सञ्चालन गर्नका लागि हरेक छ महिनामा सात हजार रुपैयाँका दरले शुल्क लिइने र त्यही शुल्कबाट सरसफाइ तथा मर्मत सम्हार गर्ने गरीएको छ । घोडा हिड्ने बाटो सरसफाइ र मर्मत गर्नुका साथै घोडाको स्टेसन निर्माण, मर्मत तथा घोडाको लागि पानीको जोहो पनि त्यही घोडा दर्ता शुल्कबाट गर्ने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले मुस्ताङमा परापूर्व काल देखिनै घोडा जात्रा हुने र त्यो अहिले कम भएको भए पनि यहाँ चल्ने घोडा भएकाले त्यसको लागि पनि सहजता भएको छ । मुक्तिनाथ क्षेत्रमा हाल सञ्चालित घोडाहरु चलाउनेहरुमा स्थानीय नगण्य मात्रामा हरेको उहाँको भनाई छ । हाल म्याग्दी, रुकुम, बागलुङ, डोल्पा, रोल्पा, धादिङ लगायतका जिल्लाहरुबाट युवाहरु आएर घोडा सञ्चालन गर्ने पेशा अंगालेका छन् । जेजति भए पनि हाल मुक्तिनाथ क्षेत्रमा सञ्चालित घोडाले खाडीको चर्को घाममा गएर काम गर्न पर्ने बाध्यात्मक अवस्थाबाट केही युवालाई भए पनि मुक्त गरेको उहाँको भनाई छ ।
कास्की बिरेठाँटीका ४२ वर्षिय बिरबहादुर बिक मुक्तिनाथ क्षेत्रमा बसेर काम गर्न थालेको २२ वर्ष बितिसक्यो । अहिले उहाँले घोडा चलाउन थालेको पनि १० वर्ष भयो । साहुको घोडा चलाउने उहाँको मासिक तलब २५ हजार रुपैयाँ रहेको छ । धार्मिक पर्यटकको सेवा गर्न पाइने र उहाँहरुले मन्दिर पुग्न कठिन भएको समयमा आफू सहयोगी बन्न पाउँदा निकै खुशी लाग्ने उहाँको भनाई छ । दुई छोरी र एक छोरा अनि श्रीमतीका साथमा बाबा आमा पनि बिरेठाँटी घरमा रहेको बताउने उहाँले मुक्तीनाथको पुराङ, झारकोट, रानीपौवा क्षेत्रमै २२ वर्ष बिताएको सुनाउनुभयो ।
मुक्तिनाथ क्षेत्रमा घोडाले यात्रुलाई बोक्ने व्यवसाय गरेको भए पनि त्यो एक प्रकारको सेवापनि भएको बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मुक्तीनाथका वडा अध्यक्ष तथा गाउँपालिकका प्रवक्ता प्रमेश गुरुङले बताउनुभयो । उहँँले भन्नुभयो–‘हिड्न नसक्ने यात्रुहरुका लागि मन्दिर दर्शनका लागि पु¥याउने सेवा हो तर त्यो सेवामा आफ्नो पनि व्यवसाय जोडिएको छ ।’
वैदेशिक रोजगारीका लागि अधिकांश साउदी, मलेसिया, युनाइटेड अरब इमरेष्ट(युएइ) लगायतको मुलुकमा पुगेका युवाहरुको गन्तव्य मुस्ताङको मुक्तिनाथमा घोडा सञ्चालन हुने गरेको छ । मुक्तिनाथ स्थीत होटल अन्नपुर्ण इनका सञ्चालक रविन सुवेदीले मुक्तिनाथ दर्शनका लागि आउने अशक्त तिर्थयात्रीको सुविधाका लागि सञ्चालन गरिएका घोडाहरुले युवाहरुलाई रोजगारी समेत सृजना गरेको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथ मन्दिरमा दर्शन तथा पुजाअर्चनाका लागि आउने अधिकांशको चाहना मन्दिर सम्मै पुगेर दर्शन गर्नु नै हुने भएकाले अशक्तहरुलाई मन्दिर सम्म पुग्नका लागि घोडा अत्यन्तै उपयोगी रहेको छ ।
मुक्तीनाथ क्षेत्रमा घोडाका लागि दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने मुक्तीनाथका स्थानीय वासिन्दा छेम्बेल ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घोडा दर्ता गरेपछि गाउँमुखियाले दिएको आधिकारीक पहिचान सहित मात्रै घोडा सञ्चालन हुन्छ ।
बारागुङ मुक्तीक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार हाल मुक्तिनाथ क्षेत्रमा पर्यटकको सहजताका लागि एक सय तीस वटा घोडाहरु अहिले सञ्चालित छन् । घोडाहरु सञ्चालन हुँदा अशक्तहरुका लागि सहज भएतापनि बसपार्क देखि सिधै मुक्तिनाथ मन्दिर पुग्ने हुँदा वसपार्कदेखि मन्दिर बीचमा रहेका स्थानीय कला संस्कृतिहरुको दृष्यावलोकन गर्नबाट तिर्थयात्रीहरु चुकेको उहाँले बताउनुभयो । तिर्थयात्रीहरुलाई सहजता भए पनि उहाँहरुले धेरै चिजहरु आफ्नै आँखाले देख्न पाउने मौकाबाट बञ्चित पनि हुनुभएको अवस्था पनि रहेको पाण्डेयको भनाई छ ।
मुक्तीनाथ मन्दीर क्षेत्रलाई व्यवस्थीत गर्न तथा त्यस क्षेत्रको भौतिक पूर्वाधार लगायतको सुविधाका लागि गाउँपालिकालाई ध्यान दिनु पर्ने मुक्तिनाथमा दर्शनका लागि पुग्ने पर्यटकको गुनासो छ । मुक्तीनाथ क्षेत्रमा पार्कीङ लगायतको शुल्ःक गाउँपालिकाले उठाउने गरेको भए पनि त्यहाँको आम्दानी व्यवस्थित गर्नुका साथै पर्यटकहरुका लागि सुविधा बढाउन तर्फ गाउँपालिकाको ध्यान जानु पर्ने काठमाडौंबाट मुक्तीनाथ दर्शनका लागि आउनु भएका सागर लुईटेलले बताउनुभयो ।