आदर्श अनलाइन, म्याग्दी
निकै ठुलो महत्व र लक्ष्य प्राप्तीका लागि भन्दै २०७८ सालमा निर्माण सुरु भएको खेल मैदान निर्माण कार्य रोकिँदा पर्यटन तथा खेल क्षेत्रका व्यक्तिहरुले चासो देखाएका छन् । हिमाली जिल्ला म्याग्दीको पर्यटकीय स्थल रघुगंगा गाउँपालिका–५, टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको भए पनि त्यसले पुरा गति नलिएर रोकिदा चिन्तित बनेका हुन् ।
समुद्री सतहदेखि दुई हजार चार सय ३० मिटर भन्दा माथिको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको थियो । खेलमैदान निर्माण गर्नुको उद्देश्य निकै राम्रो भए पनि त्यसले नतिजा नदिँदा स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । नेपाल होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका केन्द्रीय सचिव ताराप्रसाद आचार्यले पर्यटन र खेलका लागि पनि निकै महत्वपूर्ण स्थानमा बन्न लागेको मैदान निर्माणको कार्य रोकिदा समग्र मुलुकलाई नै घाटा हुने तर्क गर्नुभयो ।
उच्च स्थानमा आएर अभ्यास गर्दा खेलप्रतिभा राम्रो हुने थियो र त्यहाँ खेलाडीहरु आउँदा पर्यटन व्यवसायलाई पनि राम्रो हुने भएकाले पनि यसलाई जति सक्यो चाँडो सुरुआत गरिनु पर्ने उहाँले तर्क गर्नुभयो ।
उच्च स्थानका भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान निर्माण थालिएको भए पनि त्यसले सोचे अनुरुप काम गर्न नसकेको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिनुभयो ।
२०७८ को कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन थाले पनि उसले आफ्नो जिम्माको काम गरे पछि अरु थप काम हुन सकेन । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनी नगरपालिका–१ को मनिषा निर्माण सेवासँग तत्कालिन अवस्थामा २३ लाख २३ हजार १४ मा ठेक्का सम्झौता भएको थियो ।
खेलमैदान निर्माण सम्पन्न गर्न ५१ लाख २० हजार आठ सय ८० रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण कम्पनिले आफ्नो जिम्माको काम सकेको भए पनि थप बजेट नआए पछि काम अगाडी बढ्न नसकेको रघुगंगा गाउँपालिकाका तत्कालिन इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।
ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण गर्ने र अन्य क्रमागत योजनाको रुपमा थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गरी गाउँपालिकाले योजना शुरु गरेको भए पनि पहिलो चरणको काम नै पुरा नहुँदै अरु काम अगाडी बढ्न नसकेको वडा अध्यक्ष शेरपुञ्जाले जानकारी दिनुभयो ।
रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमाना क्षेत्र पर्ने टोड्के क्षेत्र धौलागिरी तथा अन्नपुर्ण हिमसृङ्खलाको दृष्याबलोकन गर्दै खेलकको मजा लिन उपयुक्त स्थान रहेको मंगला गाउँपालिका–१ का अध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो ।
गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न पनि सकिन्छ । धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनाको समेत प्रचुर सम्भावना रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।