आदर्श अनलाइन, बागलुङ
दुग्ध उत्पादक किसानलाई आत्मनिभर बनाउनका लागि आधुनिक उपकरण संचालन र मर्मत सम्बन्धी तालिम दिइएको छ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सनको सहकार्यमा बागलुङको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका दुग्ध उत्पादक किसानलाई तालिम दिइएको हो ।
किसानलाई धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सनले यसभन्दा अगाडि केही किसान तथा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनालाइजर, सोला र डि फ्रिज लगायतका उपकरणहरु उपलब्ध गराएको थियो ।
अझै केही किसानालाई उपकरण प्रदान गर्न बाँकी रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले बताइन् । उनले किसनालाई आधुनिक प्रबिधिसँग जोडेर जीविकोपार्जन गर्न सहज बनाउने हिसाबले काम गरेको भन्दै अब उनीहरुले उपकरण आफै मर्मत गर्न सकुन् भन्ने उद्देश्यले तालिम संचालन गरेको बताइन् ।
तालिममा सहभागी किसान टिकाबहादुर थापाले अहिलेसम्म आफूहरुले परम्परागत रुपमा पशुपालन गरि दूध उत्पादन गर्दै आएको भन्दै प्रबिधिसँग जोडिन पाउँदा खुसी लागेको बताए । तालिमले दूधको गुणस्तर पत्ता लगाउन र उत्पादन बढाउनका लागि टेवा पुगेको उनको भनाइ छ । उनले अब सामान्य रुपमा बिग्रिएका उपकरण घरमै आफै बनाउन सक्ने भएको बताए ।
तालिममा काठेखोला र बागलुङ नगरपालिकाका २३ जना किसान सहभागी थिए । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रले कृषि र पशुपालन गर्दै आएका किसानका लागि लामो समयदेखि काम गर्दै आएका छन् ।