आदर्श अनलाइन, पोखरा
सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी गण्डकी प्रदेशको पोखरामा सोमबार सम्पन्न गरेको छ ।
बैंकको २१ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समिक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूका बारेमा छलफल गरी अगाडि बढ्नका लागि कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी क्षेत्रको समस्याको समाधानका लागि सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै बैंकले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा र दिशानिर्देश दिन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईंले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको उल्लेख गर्नुभयो । सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि बैंकले ६८ वटै शाखा कार्यालय मार्फत निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरि रहेको समेत जानकारी दिनुभयो ।
गोष्ठीमा सहकारी विज्ञ तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले तनाव व्यवस्थापन र उत्प्रेरणाको विषयमा तथा सहकारी ऐन, सहकारीका मूल्य, मान्यता र सहकारी क्षेत्रका समस्याको यथार्थमा समाधानका विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु), कमला पौडेल सुवेदी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक कमला गिरी, नेपाल केन्द्रीय दुग्ध सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज बराल, सञ्चालक दीपक गौतम, पोखरा महानगर सहकारी समिति सभापति रवि रमण तिवारी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदी, संघका पूर्व अध्यक्ष सुदिप ढकाल, सहकारी बैंक शाखा समन्वय उपसमिति बागलुङका संयोजक ध्रुवप्रसाद शर्मा, पोखरा महानगर सहकारी समितिका विज्ञ सदस्य नारायण आचार्य, कोअपरेटिभ म्यानेर्जस क्लब कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको गोष्ठी कार्यक्रम मङ्सिर २० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना बैंकले जनाएको छ । कार्यक्रम मार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ । बैंकको गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।