आदर्श अनलाइन, बागलुङ
शुक्रबार बागलुङ नगरपालिका वडा नम्बर ४ को कार्यालयले सचेतनामुलक अभिमुखिकरण गरी लैगिंक हिंसा विरुद्धको कार्यक्रम मनाएको छ ।
बागलुङ नगरपालिकाले सबै वडामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार चार नम्बर वडाले १३ वटा टोल र १२ वटा महिला समूहका सदस्यलाई लैगिंक हिंसा सम्बन्धी अभिमुखिकरण गरेको छ ।
अभिमुखीकरणमा लैगिंक हिंसा र कानूनी उपचार सम्बन्धी महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्य, आत्महत्या न्यूनिकरण सम्बन्धी मनोपरामर्शदाता मधु पौडेल र कम्युनिटि सपोर्ट ग्रुपका प्रमुख करुण कँडेलले लागु पदार्थ दुव्र्यसनी सम्बन्धी विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बानपा–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले लैगिंक हिंसा अन्त्यका लागि महिला समूहको भूमिका ठूलो रहेको बताउनुभयो । उहाँले घर र टोलबाटै हिंसा अन्त्यको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघको उपाध्यक्ष पिङ्गला जिसी खड्का, मिलीजुली टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अभिमूखीकरण कार्यक्रमको अध्यक्षता वडा स्तरीय लैगिंक हिंसा न्यूनिकरण निगरानी समितिका संयोजक रुविना बिकको अध्यक्षता, कार्यपालिका सदस्य ज्योती केसी विष्टको स्वागत मन्तव्य तथा वडा सचिव नेत्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको छ ।