उर्जाको प्रयोगद्वारा उपकरण प्रयोग गर्दा कम समयमा सुरक्षित उत्पादन


आदर्श अनलाइन, बागलुङ

प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग र सामुदायिक श्रोत विकास केन्द्र (DCRDC) बागलुङको प्राविधिक सहयोगमा सञ्चालित ‘उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तर सुधार परियोजना’ लागु भएका कार्यक्षत्रको अनुगमन गरिएको छ ।

उर्जाको प्रयोगद्वारा दुधलाई प्रशोधन तथा बजारिकण गरी कृषकको जीवनस्तरमा परिर्वतन ल्याउने लक्ष्यका साथ अघिल्लो वर्षबाट सुरु भएको परियोजनाबाट लाभान्वित भएका बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ का ५ जना दुग्ध उत्पादक कृषकको फर्ममै पुगेर अनुगमन गरिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा, बागलुङ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कोपिलामणी चापागाई, १४ का अध्यक्ष चक्रबहादुर खत्री, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषीराम सापकोटा, विद्युत प्राधिकरण बागलुङका प्रमुख रमेश पौडेल, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, प्राक्टिकल नेपालका सिनियर कार्यक्रम अधिकृत चन्द्र कार्की, डिसीआरडिसी बागलुङका अध्यक्ष सिर्जना थापा र उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तर सुधार परियोजनाका कार्यक्रम संयोजक इन्जिनियर साजन आचार्य सहितको टोलिले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बागलुङ नगरपालिका १२ स्थित बलेवा एकीकृत पशुपालन फर्मका सञ्चालक मुकुन्द ढकालले प्राक्टिकल एक्सन, डिसिआरडिसी र भेटेरिनरी जस्ता कार्यालय र कार्यक्रमहरुले समय समयमा गर्ने सहयोगले पशुपालन गर्न थप प्रेरणा मिलेको बताउनु भएको थियो ।

लामो समयको वैदेशिक रोजगारी छोडेर पशुपालन गर्न थालेका ढकालले परियोजनाले प्रदान गरेको सोलर हिटर वाटरले समयको सदुपयोगसँगै पशु र पशुपालक कृषकको स्वास्थ्यमा समेत सुधार भएको बताउनु भयो ।

गाइभैसीलाई पानी तताएर खुवाउदा विहान बित्ने, २२ जना खेताला लगाएर काटेको दाउराले एक वर्ष नपुग्ने, धुँवाले स्वास प्रस्वासमा समस्या हुने र गाइ भैसीलाई खुवाउन राखेको पराल समेत धुँवाले कालो हुँदा निकै समस्या व्यहोरेका कृषकलाई राहत पुगेको ढकालले बताउनु भयो ।

परियोजना मार्फत ढकालको बलेवा एकीकृत पशुपालन फर्म र नवभैरव पशु पालन फर्ममा ५÷५ सय लिटरको सोलर वाटर हिटर, एलिसा कृर्षी तथा पशु पालन फर्ममा २ सय ५० लिटरको सोलर वाटर हिटर, शर्मिला कृर्षि तथा पशुपालन फर्मलाई घाँस काट्ने मेसिन (चाफ कटर) र बस्नेत पशुपालन फर्मलाई ४ सय लिटरको डिप फ्रिज प्रदान गरिएको छ ।

परियोजनाले प्रदान गरेका उपकरणको कृषकले प्रयोग गरे नगरेको, प्रयोग गरिएका उपकरणले दैनिक जीवनमा सहज भए नभएको, सहज र उपयोगी भए नभएको विषयमा सोधपुछ गरिएको थियो ।

दैनिक १ सय २० लिटर दुध उत्पादन गर्दै आएका बस्नेत पशुपालन फर्मका सञ्चालक कुमार बस्नेतले परियोजनाले दिएको डिप फ्रिज निकै उपयोगी भएको बताउनु भएको थियो । फ्रिज नहुँदा विक्रि नभएर रहेको दुध फाट्ने, खुवा, पनिर राख्न असुविधा हुने गरेको भएपनि पछिल्लो समय निकै सहयोगी भएको बताउनु भएको थियो ।

प्राक्टिकल एक्सनसँग मिलेर डिसीआरडिसी र भेटेरिनरी अस्पताले समय समयमा प्रदान गरेका सीप, तालिम, उपकरण, प्राविधिक सहयोग र अनुदानका कारण थप प्रोत्साहित हुने गरेको कृषकको भनाई थियो ।

घाँस काट्ने मेसिन, पानी तताउन सोलर हिटर वाटर, दुध र दुग्धजन्य वस्तुको व्यवस्थापनका लागि परियोजनाले प्रदान गरेका उपकरणले २० वटा गाइवस्तु २ जना व्यक्तिले पाल्न सकिने कृषकको भनाई थियो । घण्टौ लगाएर पानी तताउने र घाँस काट्ने काम गर्न गाउँमा मानिस नपाए पनि उपकरणले केही समयमै सम्भव भएको एलिसा कृर्षी तथा पशु पालन फर्मका सञ्चालक कृष्ण प्रसाद लामिछानेले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *