दुधको विविधीकरण गरेर बजारीकरण गर्न सघाउनु पर्छ : गौतम


आदर्श अनलाइन, बागलुङ

प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग र सामुदायिक श्रोत विकास केन्द्र (म्ऋच्म्ऋ) बागलुङको प्राविधिक सहयोगमा सञ्चालित ‘उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तर सुधार परियोजना’को समापन भएको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका दुग्ध उत्पादक कृषकसँग रहेर दुधको गुणस्तर वृद्धि, व्यवस्थापन, परम्परागत पशुपालनलाई प्रविधिको प्रयोग गरेर व्यवसायिक बनाउन विभिन्न तालिम सहित उपकरण समेत अनुदानमा सहयोग गरेको पाइलट परियोजना एक वर्षमा सकिएको हो ।

परियोजना समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले दुधको उपयोगिताका बारेमा जागरण ल्याउन जरुरी रहेको बताउनु भएको छ ।

पाइटल परियोजनाको अनुगमनको क्रममा कृषकहरु उत्साहित भएको देखेको भन्दै उहाँले कार्यक्रमलाई थप विस्तार गर्न सुझाव दिनु भएको थियो । पहिलो चरणमा कृषकलाई उपकरण सहयोग गरेको परियोजनाले यो कार्यक्रमलाई अझै विस्तार गरेर दुधको विविधीकरण गरेर बजारीकरण गर्न परियोजनाले सघाइदिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले गैरसरकारी संस्थाहरुले गाउँ–गाउँमा ल्याएका परियोजनाहरुले स्थानिय सरकारका नीति तथा योजनालाई पुरा गर्न समेत सघाएको भन्दै यो कार्यक्रलाई विस्तार गर्न आग्रह गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाबाट समेत सहयोगको प्रतिवद्धता व्यक्त गर्दै कंडेलले भर्खर प्रविधिको प्रयोग गर्न सिकेका कृषकलाई थप व्यवस्थापनमा सघाउन अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुत्तिराम सापकोटा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, डिआइआरडिसी बागलुङका सल्लाहकार मणिभद्र शर्मा, धौलागिरी भेट सेन्टर बागलुङका प्रमुख केशव शर्मा, कृषकहरु टिका पुन, सुरेश कंडेल र किरण थापाले परियोजना निकै प्रभावकारी भएको भन्दै निरन्तरताको कामना गर्नु भएको थियो ।

परियोजनाले प्रदान गरेको दुधको गुणस्तर मापन गर्ने मेसिन, सोलर वाटर हिटर, घाँस काट्ने मेसिन (चाफ कटर), डिप फ्रिज, पनिर प्याकेजिङ गर्ने मेसीन जस्ता उपकरण र उपकरण विग्रिएमा बनाउनका लागि मर्मत सम्भार तालिम निकै उपयोगी भएको भन्दै उहाँहरुले यसलाई छुटेका कृषकमा निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

परियोजनाले बागलुङ नगरपालिकाका र काठेखोला गाउँपालिकाका ४२ जना कृषकका फर्म, ८ वटा सहकारी संस्था, १ वटा सहकारी संघ, १ वटा डेरी उद्योग, व्यक्तिगत ३ र २ वटा सेवा प्रदायक संस्थालाई ६० लाख बराबरको उर्जाको माध्यमबाट प्रयोग गरिने प्रविधि सहयोग गरेको परियोजनाका कार्यक्रम संयोजक इन्जिनियर साजन आचार्यले जानकारी दिनु भयो ।

१० वटा दुधको गुणस्तर मापन गर्ने मेसिन, २६ वटा सोलर हिटर वाटर, ३ वटा डिप फ्रिज, २ वटा डबल क्याबिनेट फ्रिज, ५ वटा घाँस काट्ने मेसिन, क्यान्डी बनाउने मेसिन, पानी कुलर, क्रिम बनाउने मेसिन, पनिर प्याक गर्ने मेसिन, पनिर ट्याङ्की, दही प्याक गर्ने मेसिन र डिजिटल तौल मेसिन प्रदान गरिएको आचार्यले बताउनु भयो ।

समापन कार्यक्रममा प्राक्टिकल एक्सन नेपालका सिनियर कार्यक्रम अधिकृत चन्द्र कार्कीले एक वर्षको अवधिमा परियोजनाको माध्यमबाट बागलुङका दुग्ध कृषकको जीवनस्तर सुधारमा इट्टा थप्ने कार्य मात्र गरिएको भन्दै आगामी दिन स्थानिय तहले अपनत्व लिन आग्रह गर्नु भएको थियो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि क्षेत्रका विषयमा समावेश भएका योजना पुरा गर्न सघाएको भन्दै पहिलो चरणको पाइलट परियोजना सम्पन्न भएको बताउनु भएको थियो ।

कार्यक्रम थप हुने नहुने विषयमा तत्काल आफुले कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै उहाँले कार्यक्रम समापन भएको जानकारी गराउँदा आफुलाई पनि दुख लागेको बताउनु भएको थियो ।

अन्तरक्रिया तथा परियोजना समापन कार्यक्रम डिसीआर डिसी बागलुङका अध्यक्ष सिर्जना थापाको अध्यक्षता, कोषाध्यक्ष सुस्मिता किसानको स्वागत तथा परियोजना कार्यक्रम संयोजक इन्जिनियर साजन आचार्यको सञ्चालनमा सम्पन्न डिसिआरडिसी बागलुङका ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्